चुनाव आयो कि एमाले त ढुंगाको काप फोरेर पनि उम्रिन्छ, गठबन्धन केही पनि होइन : ओली

२७ चैत्र २०७८, आईतवार १८:४७

नेपालको आर्थिक अवस्था श्रीलंकाको जस्तै बन्न लागेको एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्।

देशको अर्थतन्त्र संकटपूर्ण हुँदै गएको आज नेपाल राष्ट्रिय शिक्षक संगठनको १३ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले बताएका हुन्। कर्मचारीले तलब र भत्ता जनताले नपाउने अवस्था केही समयमा आउने उनले दाबी पनि गरे।

‘अहिले अर्थतन्त्र हेर्नुस् त देशको। श्रीलंका बन्न जाँदैछ नेपाल। केही समयपछि तपाईहरुले तलब पाउनुभएन भने अनौठो नमान्नु होला। तलब दिनसक्ने अवस्था छैन। जेष्ठ नागरिकहरुले भत्ता पाएनन् भने अनौठो नमान्नु होला। दिन सक्ने अवस्था छैन। योजनाहरु, आयोजनाहरु काटिएका छन्,’ उनले भने।

सत्तारुढ गठबन्धनमा आबद्ध दलहरु भने देश आर्थिक संकटउन्मुख हुँदै गर्दै खुशी भइरहेको ओलीले टिपण्णी गरे।
‘देश यस्तो अवस्थामा पुग्दापनि गठबन्धनमा बस्नेहरु आनन्दमा छन्, प्रशन्न छन्, खुशी छन्। किनभने एमालेलाई रोकियो। एमालेलाई सरकारबाट हटाइयो। कतिदिन हटाउने एमालेलाई सरकारबाट ? ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल। नेकपा एमाले त चुनावको वर्षायाम पर्खिरहेको छ। चुनावको वसन्तको याम पर्खिराखेको छ। चुनाव आयो कि एमाले त ढुंगाको काप फोरेर पनि उम्रिन्छ। गठबन्धन केही पनि होइन,’ ओलीले भने।

सत्तारुढ गठबन्धनले देशको अर्थतन्त्र ध्वस्त बनाएर देशलाई बर्बाद बनाउँदै लगेको आरोप ओलीले लगाए।