
भरतपुर महानगरपालिकाको मेयरमा आफ्नो पार्टीलाई सहयोग नगरे परिणाम सोचेभन्दा फरक हुन सक्ने नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले बताएका छन्।
गएको पालिका चुनावमा नेकपा (माओवादी केन्द्र)लाई सहयोग गरेकाले यस पटक कांग्रेसलाई सहयोग गर्न माओवादीलाई अनुरोध गरेको उनले बताए ।
सभापति खनालले भने ‘समूह भित्रबाट निर्देशन गरेर कार्यकर्तालाई नियन्त्रण गर्न खोज्ने कुरा राम्रो होइन । कार्यकर्तालाई केन्द्रबाट निर्देशित गर्न सकिने भए पनि हात समाएर यहाँ मत खसाल भन्न सकिँदैन ।
यसले चुनावको नतिजा सोचेको भन्दा फरक आउन सक्छ । कार्यकर्तालाई निराश बनाएर गरिएको कामले गठबन्धन र नेपाली कांग्रेस पार्टी नै धराशायी बन्छ । यसबारेमा नेताहरुले पुनर्विचार गर्नुपर्छ ।’
उनले नेपाली कांग्रेस पार्टीले भरतपुर महानगरपालिकाको मेयर नछोड्ने पनि बताए। २०७४ सालको चुनावमा आफ्नो पार्टीले माओवादी केन्द्रलाई सहयोग गरेको र त्यसको पैँचो अब माओवादीले नेपाली कांग्रेसलाई तिर्नुपर्ने उनले जिकिर गरे ।
सभापति खनालले भने, ‘चितवनसँग र नेपाली कांग्रेससँग अहिले दुई वटा सम्बन्ध जोडिएको छ । एउटा हामी नेपाली कांग्रेसमा आबद्ध छौँ ।
हाम्रो केन्द्रीय सभापति शेरबहादुर देउवा हुनुहुन्छ, जो गठबन्धनकै प्रधानमन्त्री हुनुहुन्छ । साथै गठबन्धनको अर्को बलियो पार्टनरका रूपमा माओवादी केन्द्रका पुष्पकमल दाहाल आउनुभएको छ ।
उहाँ चितवन जिल्लाकै मान्य सांसद हुनुहुन्छ । त्यसैले उहाँले यो गठबन्धनलाई जीवित राख्नका लागि र सँगै उहाँको कार्यक्षेत्र पनि चितवन भएका कारणले यहाँका राजनीतिक पार्टीहरूका बीचमा उहाँ माआवादी केन्द्रको नेता भए पनि उहाँले नेपाली कांग्रेसलाई पनि बराबर माया गर्नुपर्दछ ।
गठबन्धनको सैद्धान्तिक र व्यवहारिक पक्ष भनेको आलोपालो हो । २०७४ मा हामीले सहयोग गर्यौँ अब २०७९ मा तपाईँले सहयोग गर्नुहोस् ।’
उनले महानगरपालिकाको अन्य पदमा भने गठबन्धनबीचमा तालमेल गरेर जान सकिने बताए। सभापति खनालले यसबारेमा पार्टीका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता र पदाधिकारीलाई जानकारी गराएको पनि बताए।
गएको चुनावमा कांग्रेसले माओवादीलाई सहयोग गरेको र यस पटक कांग्रेसलाई सहयोग गरे गठबन्धन बच्ने र संविधानको रक्षा पनि हुने उनको भनाइ छ ।
