स्थानीय चुनावमा देशव्यापी तालमेल गर्न पाँच दलको आह्वान

२५ चैत्र २०७८, शुक्रबार १३:१६

स्थानीय चुनावमा देशव्यापी तालमेलको आह्वान गर्दै सत्ता गठबन्धनमा रहेका पाँच दलले संयुक्त विज्ञप्ति जारी गर्ने भएका छन् ।

गठबन्धन दलका शीर्ष नेताको हस्ताक्षरसहित देशव्यापी तालमेल गर्न आव्हान गर्दै संयुक्त वक्तब्य जारी गर्न लागिएको नेपाली काँग्रेसका एक नेताले दिएको जानकारी गराए।

‘रामचन्द्र पौडेलजीको संयोजकत्वमा बनेको कार्यदलले सार्वजनिक अपिल ड्राफ्ट गरिरहेको छ, गठबन्धनका मुख्य नेताहरुको बैठक बसेर त्यसलाई अन्तिम रुप दिने र संयुक्त वक्तव्य जारी गर्ने गृहकार्य भइरहेको छ’ ती नेताले भने,‘सायद एक दुई दिनभित्रै वक्तव्य आउँछ ।’

गठबन्धनमा आवद्ध दलका नेताहरुबीच शुक्रबार बिहान बालुवाटारमा भएको अनौपचारिक छलफलमा पनि संयुक्त वक्तव्य जारी गर्नेबारे नेताहरुबीच छलफल भएको बताइएको छ ।

छलफलमा काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्डका साथै कृष्णप्रसाद सिटौला र पूर्णबहादुर खड्का लगायतको सहभागिता थियो । बैठकमा एकीकृत समाजवादीका नेता झलनाथ खनालको पनि सहभागिता थियो ।

सत्ता गठबन्धनले ६ वटा महानगरपालिका र ११ उपमहानगर पालिकामा मेयर र उपमेयरहरुको उम्मेदवारी केन्द्रबाटै टुंगो लगाउने र बाँकी स्थानीय तहमा मातहतका पार्टी कमिटीले उम्मेदवार तय गर्नेगरी यसअघि नै निर्णय गरिसकेका छन् ।

शुक्रबार बालुवाटारमा शीर्ष तहमा भएको छलफलमा सहभागी एक नेताले भने,‘यसबारे छलफल त भइरहेको छ तर ठोस रुपमा टुंगो लाग्न बाँकी छ ।’ आगामी बैशाख ३० गते स्थानीय तहको चुनाव हुदैछ । त्यसका लागि शुक्रबार रातिबाट निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागु भएको घोषणा गर्दैछ ।