
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निवास खुमलटार नेपाली काँग्रेसका नेताहरु पुगेका छन् । अध्यक्ष प्रचण्डसँग भेटघाट गर्न काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला खुमलटार पुगेका हुन् ।
काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलासँग बिहान ९ बजेदेखि भेटवार्ता भएको अध्यक्ष दाहालको सचिवालयले बताएको छ ।
यस्तै भरतपुर महानगरपालिकाको मेयर कुनै हालतमा नछाड्ने अडान बोकेर आएको चितवनको काँग्रेस टोलीले नेता पौडेललगायतका शीर्ष नेताहरुलाई भेटेर दवाव दिएको छ ।
माओवादी अध्यक्ष दाहालले गत साता भरतपुर पुगेर महानगरको मेयर माओवादीबाटै बन्नु पर्ने ढिपी गरेपछि काँग्रेसका नेताहरुले शीर्षनेताहरुलाई भेट्न काठमाडौं आएका हुन् ।
सत्तारुढ दलहरुको गठबन्धनले बनाएको स्थानीय तह निर्वाचनका लागि तयारी तथा अनुगमन समितिको संयोजकसमेत रहेका पौडेललाई उनीहरुले ज्ञापनपत्र नै बुझाएका छन् ।
उनीहरुले भरतपुरको मेयर पद अब काँग्रेसलाई भन्दै उक्त माग नै अन्तिम बटमलाइन भएको बताएका छन् ।
चितवन काँग्रेसका सभापति राजेश्वर खनाल,पूर्वसभापति टेकप्रसाद गुरुङ,नेता दिनेश कोइरालालगायतको टोलीले हिजै महामन्त्री गगन थापा,उपसभापति धनराज गुरुङ, पूर्णबहादुर खड्कालगायतका नेतासँग भेटेर सोहि माग दोहोर्याएको छ ।
उनीहरुले आज पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्दै छन् । उनै कोइरालालाई यसअघिको निर्वाचनमा मनोनयन दर्ता गर्ने बेला मेयर पदबाट नाम फिर्ता लिन लगाइएको थियो ।
