
नेपाली काँग्रेस चितवनले भरतपुर महानगरको नगर प्रमुख पद नछाड्ने अडान कार्यान्वयन गर्न दबाब दिएको छ ।
भरतपुर महानगरको प्रमुख नेकपा माओवादी केन्द्रको भागमा नदिन जिल्लाका नेताहरू शीर्षनेतालाई भेटघाटका लागि काठमाडौँ पुगेका छन् ।
सत्ता गठबन्धनको स्थानीय तहको निर्वाचनका लागि तयारी तथा अनुगमन समितिको संयोजकसमेत रहेएका पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर जिल्ला सभापति, केन्द्रीय सदस्यहरू सहितले बिहीबार आफ्ना अडान राखेका छन् ।
कुनै पनि हालतमा छाड्न नसकिने जिल्ला पूर्वसभापति जितनारायण श्रेष्ठले स्थानीय स्तरको आवश्यकता र औचित्यका आधारमा भरतपुर काँग्रेसले पाउनुपर्ने बताए छन्। वरिष्ठ नेतालाई भेटेर केन्द्रीय समितिको निर्णयअनुसार नै भरतपुरको प्रमुख काँग्रेसले पाउनुपर्ने र यो नै अन्तिम बटमलाइन भएको कुरा सुनाएको नेता श्रेष्ठले जानकारी दिए ।
“नेता पौडेलले यसलाई गम्भीर रूपमा लिएको छु भन्नुभएको छ, चितवनको सन्दर्भमा धेरै जानकारी पनि राख्छु र यसलाई अन्य दलसँग पनि परामर्श गर्छु । पार्टी सभापतिसँग पनि परामर्श गर्छु भन्नुभएको छ,” श्रेष्ठले भने ।
