बैंकहरुको निक्षेप संकलन बढ्दा कर्जा प्रवाह घटेकाे छ । केन्द्रिय बैंकको तथ्याँक अनुसार बैंकहरुको निक्षेप संकलन गत हप्ता ४३ खर्ब ३१ अर्ब रुपैयाँ थियो। अहिलेसम्म यो निक्षेप बढेर ४३ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ। जुन २० अर्ब रुपैयाँले धेरै हो।
अर्कोतर्फ कर्जा लगानी भने झनै घटेको देखिन्छ। गत हप्ता ४१ खर्ब ७५ अर्ब रुपैयाँ रहेको कर्जा लगानी हाल ४१ खर्ब ७२ अर्ब रुपैयाँमा झरेको छ। यो ५ अर्ब रुपैयाँले कम हो।
यसरी एकातिर सुस्त रहेको बैंकहरुको निक्षेप संकलन ठुलो मात्रामा बढ्नु र कर्जा लगानी भने उल्टै घट्नुले केन्द्रिय बैंकले एलसी बन्दको लागि दिएको निर्देशनको असर निक्षेप र कर्जामा देखिएको आँकलन गरिएको छ।
केन्द्रिय बैंकले सोमबार वाणिज्य बैंकहरुको प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर विलासिताका बस्तु आयातमा एलसी नखोल्न निर्देशन दिएका थिए। सो पश्चात प्रमुख कार्यकारी अधिकृतहरुले आफ्ना शाखाहरुलाई एलसी बन्द गर्न भनेका थिए।
पछिल्लो समय ठूलो रकमको कर्जा आयातमा गइरहेको आँकलन गरिएको छ। केन्द्रिय बैंकले एलसीमा नियन्त्रण गर्दा एकातिर बैंकहरुको कर्जा लगानी झनै घटेको छ भने अर्कोतर्फ निक्षेप संकलन पनि ह्वातै बढेको देखिएको छ।
