पाल्पामा पनि पाँच दलबीच चुनावी गठबन्धन गर्ने सहमति

२४ चैत्र २०७८, बिहीबार १३:०४

आसन्न स्थानीय तह निर्वाचनमा पाल्पामा पनि पाँच दलबीच चुनावी गठबन्धन भएको छ । सत्तारुढ पाँच दल नेपाली कांग्रेस, (माओवादी केन्द्र), (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल गर्ने सहमति भएको हो ।

आउदो निर्वाचनमा पाल्पाका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय बुधबार संयन्त्रको बैठकले गरेको हो । पाल्पा कांग्रेसका सभापति हिमालदत्त श्रेष्ठको संयोजकत्वमा चुनावी तालमेल गर्ने संयन्त्र निर्माण गरिएको छ ।

त्यसको सदस्यमा माओवादी केन्द्रका संयोजक नेत्रप्रसाद पाण्डे, एकीकृत समाजवादीका अध्यक्ष खिमानन्द पाण्डे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी र जनता समाजवादीका मेयरमान राना रहेको संयन्त्रका संयोजक श्रेष्ठले बताए ।

संयन्त्रले गठबन्धन दलबीच आवश्यक छलफल, परामर्श गरी स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाउनेछ । गठबन्धनमा सहभागी दलबाट तीन÷तीन जना सहभागी हुने गरी एक कार्यदल गठन गर्ने निर्णय भएको एककिृत समाजवादीका जिल्ला अध्यक्ष पाण्डेले बताए ।

स्थानीय तह र वडाबाट सङ्कलन भएका प्रतिवेदनका आधारमा जिल्लास्तरीय संयन्त्रको बैठकबाट उम्मेदवार चयन हुने राष्ट्रिय जनमोर्चाका अध्यक्ष दर्लामीले बताए । कार्यदलको बैठक पुनः यही चैत २५ गते बसेर उम्मेदवार तय गर्ने संयन्त्रले जनाएको छ ।