
उदयपुरमा ट्युसन पढ्न गएकी एक बालिकाको मंगलबार हत्या भएको छ ।
बेलका नगरपालिका–३ किरात चोकमा घर भएकी १६ वर्षीया कविता सुनुवार मंगलबार बिहानै ट्युसन पद्न गएकी थिइन् ।
ट्युसन पद्न गएकी उनलाई स्थानीयवासीले बिहान ७ बजे खोला किनारामा मृत अवस्थामा भेटाएपछि इलाका प्रहरी कार्यालय रामपुरमा खबर गरेका थिए।
बालिकाको टाउको, अनुहार र शरीरका अन्य भागमा चोटपटक लागेको देखिएकाले कुटपिट गरी हत्या गरेको हुन सक्ने स्थानीयवासीको भनाइ छ। उनको शव पोष्टमार्टका लागि धरान पठाइएको छ।
उनको पछाडि १७ वर्षीया सरिता ढकाल र भारतको सिक्किम बियुङ घर भई बेलका–३ मा बस्दै आएका १९ वर्षीय बिनोद ढकाल गएको देखिएको जिल्ला प्रहरी कार्यालयका एसपी सुवासचन्द्र बोहोराले बताए। प्रारम्भिक अनुसन्धानका क्रममा ढकालद्वयको भूमिका शंकास्पद देखिएकाले थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको एसपी बोहोराले बताए। सरिता कवितासँगै पढ्थिन्। सँगै पढ्ने अन्य साथीका अनुसार उनीहरूबीच लामो समयदेखि मनमुटाव थियो। साथीको हत्या आशंकामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ।
सरिताको घर कविताको भन्दा १५ मिनेट टाढा छ। उनीहरूको झन्डै १० मिनेटपछि भेट भएको थियो। कवितालाई देखेपछि दुवै जना पछि–पछि खोलासम्म पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको देखिन्छ। सरिता र विनोद विद्यालय नै नपुगेको विद्यालय प्रशासनको दाबी छ।
उनीहरूले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको स्रोत बताउँछ। स्रोतले उनीहरूलाई उद्धृत गर्दै भन्यो, ‘मार्ने नियत नभई तर्साउने हिसाबले कुटेका थियौं। मरेको पत्तै भएन।’
