
नेपाली सेनाबाट संयुक्त राष्ट्र संघको शान्ति मिसन अन्तर्गत कंगोमा खटिएका समयमा विद्रोहीको आक्रमणमा परी ज्यान गुमाएका सिपाहीको पहिचान भएको छ।
विद्रोहीको आक्रमणमा परी ज्यान गुमाउने सुर्खेतको गुर्भाकोट–१४ घर भएका सिपाही अनिल गुरुङ रहेको नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा अपरेसन ‘बाली’को दौरानमा खटिएको नेपाली शान्ति सेनाको टोलीमाथि मंगलबार विद्रोही मिलिसियाले आक्रमण गर्दा गुरुङ घाइते भएका थिए । उनलाई हेलिकप्टरबाट उद्धार गरी बुनियाँस्थित लेबल–२ अस्पतालमा उपचार गर्न लगिएको उपचारको क्रममा त्यहीं मृत्यु भएको निर्देशनालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
गुरुङको निधनमा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले यो घटनाले नेपाली सेनालाई स्तब्ध बनाएको भन्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् । गुरुङको बलिदानीपूर्ण योगदानको उनले उच्च सम्मान प्रकट पनि गरेका छन् ।
संयुक्त राष्ट्रसंघका महासचिवले पनि शोक विज्ञप्ति जारी गर्दै मृतक शान्ति सैनिकका परिवारका साथै नेपाल सरकार र नेपाली जनताप्रति समवेदना प्रकट गरेका छन् । साथै शान्ति सैनिकहरुमाथि आक्रमण गर्नु युद्ध अपराध हुने भन्दै यस घटनाको छानबिन गरी दोषिलाई कानुनी कठघरामा ल्याउन कंगोका अधिकारीहरुलाई आग्रह पनि गरेको छ ।
