यस्तो छ, माओवादीको चुनावी एजेन्डा !

२३ चैत्र २०७८, बुधबार ०७:०८

माओवादी केन्द्रले ‘समाजवाद उन्मुख समृद्धि : आर्थिक विकास र सामाजिक न्यायमा अभिवृद्धि’ लाई स्थानीय तह निर्वाचनको प्राथामिक एजेन्डा बनाउने भएको छ।

माओवादी केन्द्रले स्थानीय निर्वाचनबारे मंगलबार अपिल जारी गर्दै समाजवाद उन्मुख समृद्धिका लागि यस्तो एजेन्डा तय गरेको जनाएको हो।

माओवादीले जनक्रान्तिका उपलब्धिको रक्षा र सामाजिक न्यायसहित आर्थिक सामाजिक रूपान्तरण भएमात्र समाजवाद उन्मुख समृद्धि प्राप्त हुने दाबी गरेको छ। समाजवादको परम्परागत मोडेलप्रति उदासीन र बजारका एकाधिकारबाट पीडित हुँदै निराश र निमुखा बन्दै गएका जनसमुदायको विशाल हिस्सालाई आर्थिक सामाजिक विकासको साझेदार बनाउने र उनीहरूलाई प्रतिफलको हिस्सेदारसमेत बनाउने माओवादी केन्द्रको विकास मोडेलबाट नै समाजवादउन्मुख समृद्धि सम्भव हुँदै जाने अपिलमा उल्लेख गरिएको छ।

‘स्वाधीन र सार्वभौम राष्ट्रले मात्र सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न सक्छ भन्ने कुरामा समेत हामी स्पष्ट हुनैपर्दछ।’

आधारभूत स्वास्थ्य सेवा र विद्यालय शिक्षा निःशुल्क प्रदान, खाद्य सुरक्षा, आवास, रोजगारी, स्वच्छ वातावरण, जातीय, क्षेत्रीय एवं लैंगिक समानतालगायतका मौलिक हक कार्यान्वयनमा माओवादी नै आवश्यक रहेको अपिलमा उल्लेख छ। यस्तै जनक्रान्तिको रक्षा, राष्ट्रिय स्वाधीनताको सुदृढीकरण र सामाजिक न्यायसहितको आर्थिक विकासका लागि पनि माओवादी केन्द्रको नेतृत्व अपरिहार्य रहेको अपिलमा उल्लेख छ।