नेपालको अर्थतन्त्रमा श्रीलंकाको जस्तो गम्भीर संकट आउन सक्ने भन्दै अर्थविद्हरुले चिन्ता व्यक्त गरेका छन् ।
अर्थविद् प्रा.डा. विश्वम्भर प्याकुरेलले सरकारले अहिले देखिएको अर्थतन्त्रको समस्या समाधानको लागि गम्भीर भएर कदम नचाले श्रीलंकाको जस्तो संकट आउनसक्नेतर्फ सचेत गराएका छन् ।
अर्थतन्त्रमा देखिएको समस्या समाधानको लागि सरकार र सरोकारवाला निकायले गम्भीर भएर पहल लिनुपर्नेमा उनको जोड छ ।
उनले श्रीलंकाले सुरु सुरुमा अर्थतन्त्रमा समस्या हुँदा बेवास्ता गरेकोले आजको अवस्था व्यहोरेको पनि उल्लेख गरे । ‘आजभन्दा तीन वर्ष अघि श्रीलंकामा जे खालको लक्षण अर्थतन्त्रमा देखियो, अहिले नेपालका मूलभुत आर्थिक परिसुचकहरु कताकत श्रीलंकाको तीन वर्ष अघिको जस्तो देखिएको छ । त्यतिवेला श्रीलंकामा बेवास्ता गरिएको थियो । अहिले उसले गम्भीर समस्या भोगिरहेको छ । त्यही भएर नेपाल गम्भीर हुनुपर्छ’–प्याकुरेलको दाबी थियो ।
उनले आफूहरुले मुलुकको अर्थतन्त्रको समस्या समाधानको लागि सकारात्मक सुचना दिएको पनि सुनाए । उनले श्रीलंकाको संकटबारे प्रकाश पार्दै भने,‘श्रीलंकाले ऋण बढाउँदै गएको हो, बीआरआईअन्तर्गत मात्रै ऋण थिएन । श्रीलंका र चीनबीच राम्रो सम्बन्ध थियो । चीनसँग लिएको ऋणबाट धेरै असर पर्ने थिएन । श्रीलंकामा वैदेशिक पुँजीको अभाव देखिएको थियो ।’
उनले नेपालमा रेमिट्यान्सको सूचकमा पनि उतारचढाव आएको स्मरण गराए । उनले नेपालका आर्थिक क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेर काम गर्ने निकायहरुबीच नै समन्वय नभएको गुनासो पोखे । उनले भने,‘योजना आयोग एकातिर छ, राष्ट बैंक अर्कोतर्फ छ, र अर्थ मन्त्रालय अर्कोतर्फ छ । यी तीनै निकाय एकैतर्फ हुनुपर्छ । श्रीलंकामा करप्सन बढ्यो ।
अर्का अर्थविद् डा. चन्द्रमणि अधिकारीले नेपालको अर्थतन्त्रको समस्या श्रीलंकाजस्तो अवस्थामा नपुगेको बताएका छन् ।
उनले अहिले श्रीलकांमामात्रै नभएर पूरा विश्व अर्थतन्त्रमा नै फेरबदल देखिएको सुनाए । उनले भने,‘बेलायतका अर्थमन्त्रीले स्प्रिङ स्टेटमेन्ट दिँदा अब १३ लाख मान्छे बेरोजगारमा जान्छ भनेका छन् । बोलयत नै आँत्तिसकेको छ । स्यांक्सन र काउन्टर स्यांक्सन भैरहेको छ । ग्लोबल्ली असर परिरहेको छ । हामी विश्व अर्थतन्त्रसँग परनिर्भर भैसकेकोले असर परेको छ । भोलि यस्तो हुन्छ भन्ने अनुमान गर्ने अवस्था छैन् । पाकिस्तानले रसियाको ग्याँस लिने भनेको छ ।
विश्वमै अब ध्रुवीकरण भैरहेको छ। भोलिको दिनमा डलरको भविष्य के हुन्छ भन्नसक्ने स्थिति छैन् ।’
उनले नेपालको अर्थतन्त्रलाई कक्टेल अर्थतन्त्रको संज्ञा दिए । उनले श्रीलंका र नेपालको अर्थतन्त्रको चरित्र नै फरक रहेको दृष्टान्त पेश गरे । उनले भने,‘श्रीलंका र हाम्रो अर्थतन्त्रको चरित्र फरक छ। श्रीलंकाको अथर्तन्त्र १६ प्रतिशत पर्यटनमा डिपेन्ड थियो । कृषिमा उसको ८ प्रतिशत हो, हाम्रो २६ प्रतिशत हो । उसले आफ्नो रिसोर्सको मिस म्यानेजमेन्ट गर्यो । अर्गानिक खेतीमा गयो । रसायनिक मल बन्द गर्यो । उत्पादन घट्यो । बढि ब्याजको ऋण लियो, त्यो पनि छोटो अवधिको लियो ।’
उनले पछिल्लो समय नेपालको वैदेशिक ऋण बढेको तथ्यांक सुनाए । उनले भने,‘यो संकेत राम्रो होईन । तर, हाम्रो ऋण कम ब्याजदारको छ, अनि लामो समयको छ । नेपालले माईक्रो लभेलको प्लान ल्याएन । अहिले नेपालको श्रीलंका र पाकिस्तानको अवस्था हुन्छ भन्ने होईन । मुद्राको अवमूल्यन गर्ने हो कि भन्ने कुरा आएको छ । यो संकटको बेलामा मुद्रा अवमूल्यन गर्नुहुँदैन् । नेपालको अर्थतन्त्र भनेको भारतीय अर्थतन्त्रको स्याटलाईट ईकोनोमी हो। तर, निच मारेर बस्यौं भने र यतातर्फ ख्याल नै गरेनौं भने ७÷८ महिनापछि समस्या आउँछ । भर्खरै हामीले पेट्रोलियम पदार्थको अभावको सन्दर्भमा पनि ठूलो लाईन लागेको देख्यौं, यो मानिसक रुपमा डर देखियो, यसबाट बाहिर ल्याउनुपर्छ । वैदेशिक मुद्रा कम भयो ।’
अर्थविद् डा. डिल्लीराज खनालले आफूहरुले धेरै पहिलेदेखि नै मुलुकमा आर्थिक संकट आउँदैछ भनेर सुरुदेखि नै सरकारलाई सचेत गराएको स्मरण गराए । उनले भने,‘अहिले जुन आर्थिक संकट छ, एउटा क्षेत्रमात्रै होईन । पुँजीगत खर्च नहुने, राजश्व जम्मा भएर बस्ने । जुन ढंगले बैकिङ क्षेत्रबाट लगानी भयो । व्यापार घाटा बढ्यो, चालु खाता घाटा छ, धेरै समस्या छ । हिजोमात्रै राष्ट्र बैंकले अर्थतन्त्रमा निकै ठूलो संकट नै आईसक्यो भनेर कठोर नीति लियो । हामी त यो विषय सुरुदेखि नै लेखिरहेका छौं । अर्थतन्त्रका संकेत राम्रा छैनन्, गम्भीर मोडतर्फ अर्थतन्त्र जाँदैछ भनेर भनेका थियौं ।’
उनले एकातिर अर्थतन्त्र ह्रास हुने र अर्कोतर्फ आयात व्यापक रुपमा बढ्ने समस्या औंल्याए । उनले भने,‘हामीले त सरकार सजग हुनुपर्छ भनेका थियौं । तर, सरकारका जिम्मेवार मान्छेले ७ प्रतिशतभन्दा बढिको वृद्धिद्धर हाँसिल गर्छौं भनेर भने । संकटोन्मुखतर्फ अर्थतन्त्र गैरहेको बेला सरकारले समस्याको समाधानको लागि पहलकदमी लिनुपर्दथ्यो ।’
उनले सरकारले सरोकारवालाहरु सबैलाई राखेर अघि अहिले देखिएको समस्या समाधानको लागि कदम चाल्नुपर्नेमा त्यसो नगरेको दुःखेसो पोखे । उनले भने,‘समस्या समाधानको लागि सरकारको संवेदनशीलता देखिएन । उपेक्षा गरियो । बीआरआईको कारण श्रीलंकामा समस्या आयो भन्नेपनि छ, संवेदनशिल भएर काम नगर्दा त्इहाँ समस्या हो । नेपालको समस्या श्रीलंकाको नेचरको होइन । तर, हाम्रो समस्या पनि चिन्तापूर्ण छ । सबभन्दा पहिले सरकार संवेदनशील हुनुपर्यो र सरकारले गम्भीर रुपमा महशुस गर्नुपर्यो । जुन ढंगले फरेन एक्सचेन्ज रिभर्ज रित्तिदैछ, यसले संकट ल्याउने कुरा अवश्यम्भावी छ ।’
उनले १९९६ मा भारतसँग भएको ट्रिटी तुलनात्मक प्रगतिशील थियो भन्ने धारणा राखे । उनले भने,‘मुद्रा सञ्चितीमा समस्या आएको छ । सरकार संवेदनशील भएन । मूल्यमा ठूलो चाप पर्ने खतरा छ । रोजगारीको अवसर सिर्जना गर्ने कुरामा समस्या पनि आउनेछ । भोलि सबैतर्फ समस्या आयो भने रेस्क्यु गर्ने अवस्था कठिन छ, सरकारले महशुस गर्नुपर्यो कि अब गम्भीर संकटतर्फउन्मुख छौं भनेर । ऋणको अंश बढिरहेको छ। जिडीपीको ४३ प्रतिशत पुगेको छ। यो एक प्रकारको उच्च हो । एकातिर ऋण बढ्ने अनि अर्कोतर्फ अर्थतन्त्र रसातलमा गैरहने र ठूलो समस्या आउने खतरा छ ।’
अब समस्या समाधानको लागि बृहत्त रुपमा हुनुपर्नेमा उनको जोड थियो । उनले भने,‘पुँजीगत खर्च बढाउनुपर्छ । विदेशी सहायतको उपभोग गर्ने क्षमताको वृद्धि गर्नुपर्छ । अनुउत्पादक खर्चलाई घटाउनुपर्छ । फजुल खर्च तत्काल कटाउनुपर्छ । स्पेशल फण्ड क्रियट गर्नुपर्छ । त्यो पैसा जहाँ समस्या छ, त्यहाँ लगानी गर्नुपर्छ । एक्सचेन्ज रेट पोलिसीलाई रिभ्यु गर्नुपर्छ । ठोस कार्ययोजना र कार्यान्वयनको नीति पनि बनाउनुपर्छ । अब एक्सनमा जान ढिलो भयो । विस्तृत कार्ययोजना बनाएर एक्सनमा गैहाल्नुपर्छ । महासंकटमा पुग्नबाट जोगिनुपर्छ । हाम्रो पनि अर्थतन्त्र कोभिडले असर पारेको अर्थतन्त्र हो । अझ बढि प्रताडित नहोस भनेर बेलैमा सोच्नुपर्छ । श्रीलंकाजस्तो संकट आउने सम्भावनाको कुरा गर्दा यसैगरि उपेक्षा गरियो भने श्रीलंकाजस्तो समस्या आउँछ । यो कुराको महशुस गरेर हामीले आवश्यक कदम चाल्नुपर्छ ।’
