
बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकले अनुगमन समिति गठन तथा निर्वाचन तयारी गरेको छ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक रमेश मल्लले जानकारी दिए अनुसार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको नेतृत्वमा समिति गठन भएको हो।
प्रधानन्त्री शेरबहादुर देउवाको भारत भ्रमणबारे बैठकमा ब्रिफिङ भएको थियो। आर्थिक संकटबारे विज्ञहरुसँग छलफल गरेर थप कदम चाल्ने पनि निर्णय भएको मल्लले बताए।
‘देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिदै सरकारको तर्फबाट राजनैतिक दल, अर्थविद्, योजनाविद् र सरोकारवाला पक्षसँग एक वृहत् अन्तर्क्रियाको आयोजना गर्ने र सुझावको आधारमा ठोस् कदम चाल्ने निर्णय भयो,’ उनले भने।
बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा, कांग्रेस नेता पौडेल, माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईलगायत सहभागी छन्।
स्थानीय तहको निर्वाचनमा तालमेल गर्नेबारे चैत १७ गते औपचारिक निर्णय गरेको गठबन्धनले अहिले स्थानीय तहमा गठबन्धनमा रहेका दलहरुको अवस्थाबारे अध्ययन गरिरहेको छ। मंगलवार सबै पार्टीले आ–आफ्नो अवस्थाबारे गठबन्धनलाई रिपोर्टिङ गर्ने समय तोकिएको थियो।
