५० फिट गहिरो इनारमा कसरी फसिन् ४५ वर्षीया पेमा शेर्पा ?

२२ चैत्र २०७८, मंगलवार ११:१०

५० फिट गहिरो इनारमा फसेकी ४५ वर्षीया एक महिलालाई उद्धार गरिएको छ। सोमबार दिउँसो साढे २ बजेबाट हराइरहेकी ४५ वर्षी पेमा शेर्पालाई बुढानिलकन्ठको मित्रचोकमा ५० फिट गहिरो इनारबाट उद्धार गरिएको प्रहरीले स्रोतले जनाएको छ ।

मित्रचोकस्थित हरि श्रेष्ठको घरमा डेरा गरी बस्दै आएकी शेर्पाको घर भने सिन्धुपाल्चोकको तातोपानी पर्छ । महानगरीय प्रहरी प्रभागले हराएको सूचना पाएपछि बुढानीलकको एक टोली तीव्र खोजीकार्यमा लागेको थियो।

खोज्दै जाँदा साँझ ६ बजे उनलाई सोही घरमा रहेको इनारभित्र अचेत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। प्रहरी प्रधान कार्यालयको विपद् व्यवस्थापन महाशाखाको टोलीले उनलाई उद्धार गरेको थियो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीका अनुसार १७ जनाको प्रहरी टोलीले पेमाको उद्धार गरेको थियो। पेमाको करुणा अस्पतालमा उपचार भइरहेको प्रवक्ता मैनालीले बताए। घटना सम्बन्घमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।