
स्थानीय आवश्यकताका आधारमा मात्रै गठबन्धन गर्न नेता कार्यकर्तालाई नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सुझाएका छन्।
उनले चुनावी तालमेलको अधिकार प्रदेश, जिल्ला, पालिका र वडालाई भएकोले आवश्यकता भए मात्रै गठबन्धन गर्न कास्कीमा सोमबार कार्यकर्तासँग भेटघाट गर्दै आग्रह गरे।
‘गठबन्धन जहाँ आवश्यक छ त्यहाँ गर्नुस् । सबै ठाउँमा गर्नु पर्दैन,’ उनले भने, ‘तालमेलका नाममा विगतमा भरतपुरको जस्तो तालमेल नगर्नुहोला। यसले पार्टीलाई नोक्सानी हुन्छ।’ अघिल्लो स्थानीय तहको चुनावमा माओवादीसँग तालमेल गरेका पालिकामा कांग्रेसले हारेको तर माओवादीलाई कांग्रेसले जिताएको भन्दै त्यसप्रति सचेत रहन अनुरोध गरे।
केन्द्रिय सदस्यसमेत रहेका उनले कांग्रेसको विधान अनुसार टिकट वितरणको मापदण्ड बनाउन निर्देशन दिएका छन्। ‘जथाभावी टिकट वितरण गर्ने होइन। सक्षम र योग्य उम्मेदवारलाई निर्वाचनमा टिकट दिनुपर्छ,’ उनले भने । अर्का केन्द्रिय सदस्य मधु आचार्यले अरु दलहरु पनि कांग्रेसको एजेन्डामा चुनावी तालमेलका लागि तयार हुनुपर्ने बताए।
