भारतबाट आयात हुने बिजुलीको दर आज सोमबारबाट सस्तिने भएको छ । भारतको केन्द्रीय विद्युत् विनियामक आयोगले विद्युत् खरिदका लागि बोलकबोल गर्ने अधिकतम सीमा घटाएपछि सस्तोमा बिजुली पाउन सकिने नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।
हालसम्म २० भारतीय रूपैयाँ प्रति युनिटसम्म सीमामा रहेर खरिदकर्ताले बोलकबोल गरिरहेका छन् । भारतले त्यो सीमालाई अधिकतम सीमा १२ भारू पुर्याएको छ । अर्थात प्रति युनिट भारू १२सम्ममा प्राधिकरणले बोलकबोलमार्फत बिजुली खरिद गर्न पाउनेछ । अब प्राधिकरणले विनिमयदर अनुसार १९ रूपैयाँ २० पैसामै विद्युत् खरिदका लागि बिड गर्न सक्छ ।
कोइला अभाव र महँगीले भारतीय बिजुली महँगिएपछि प्राधिकरणले उद्योगलाई दिने बिजुलीमा कटौती गर्नुपरेको थियो । उद्योगीले महँगो दरमै भए पनि बिजुली दिन माग गर्दै आएको थियो । तर गएको साता नेपालले कबोल गरेको मूल्यमा पनि बिजुली नपाएपछि उद्योगीहरू आक्रोशित थिए ।
सप्लायर्सको संख्यामा सीमितता र बिजुलीको मूल्य दरमा भएको वृद्धिले नेपालमा विद्यु्त् आपूर्तिमा समस्या देखिएको थियो । खासगरि भारतको बिहारमै बिजुलीको समस्या देखिएपछि त्यससँग जोडिएका सीमावर्ती क्षेत्रका उद्योगमा प्राधिकरणले बिजुली कटौती नै गर्नुपरेको थियो । पिक आवरमा बाहेक बिजुली आपूर्तिमा खासै समस्या नभएको प्राधिकरणले जनाएको छ । आइतबारबाट आपूर्तिमा कुनै समस्या नआउने प्राधिकरणले दाबी गरेको छ ।
