
एमाले अध्यक्ष केपी ओली फेरी पनि सत्ता गठबन्धन टुटाउने अनेक प्रयत्न गर्दै माओवादी केन्द्रलाई तान्ने रणनीतिमा लागेका छन् । एमालेका दोस्रो तहका केही नेताहरूलाई निरन्तर खटाइ माओवादीलाई केहि भाग दिएर ल्याउने योजना खुलेको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका नेताहरूसँग लगातार वार्ता भैरहेकोबारे बताएका थिए । पहिले भन्दा बढी भाग दिएर भएपनि चुनावमा गठबन्धनलाई फुटाउने ओलीको पुरानो रणनीति अनुसार माओवादी र एमालेबीच वार्ता भैरहेको हो ।
अहिले पनि एमाले र माओवादीका दोस्रो तहका नेताहरू निरन्तर संवादमा रहेका छन् । सत्ता गठबन्धनले मिलेर चुनाव लड्ने निर्णय गरेपछि चर्को दवावमा रहेका ओलीले सम्झौता गरेरै भएपनि गठबन्धन तोड्न सके चुनावी परिणाम केहि सकारात्मक आउने आँकलन गरेका छन् ।
केहि समय अघि एक कार्यक्रममा ओलीले ४० प्रतिशत दियोभने माओवादी आफूसँग आइहाल्ने बताएका उनले शुक्रबार साँझ एक कार्यक्रममा आफूहरूले चाहेको खण्डमा गठबन्धन भर्खरै टुट्ने भन्दै यसको संकेत गरेका थिए ।
ओलीले आफूहरूले चाहँदासम्म मात्र सत्तारूढ गठबन्धन रहने दाबी गरेका छन् । पाँचदलीय गठबन्धनबीच चुनावी तालमेल गरेर जाने निर्णय भएको अर्को दिन एमाले अध्यक्ष ओलीले गठबन्धन भत्काउन धेरै मिहिनेत गर्नु नपर्नेसमेत जिकिर गरे ।
‘अहिले हेर्नुस् त, बिहान–बेलुकै बालुवाटार टुप्लुक–टुप्लुक पुगेका छन् । ‘यो गठबन्धन नटुटाऊँ, गठबन्धन बचाऊँ है’ भनिरहेका छन् । यो गठबन्धन तबसम्म रहन्छ, जबसम्म हामी यसलाई रहन दिन्छौँ,’ शुक्रबार अनेरास्ववियु केन्द्रीय कमिटीको प्रथम बैठक तथा विस्तारित भेलालाई सम्बोधन गर्दै ओलीको दाबी थियो, ‘हामीले धेरै केही गर्नुपर्दैन, छ्यास्स हावा खोलिदिएपछि जान्छ । चारवटा चक्का फुकाल्नुपर्दैन, इन्जिन बन्द गर्नुपर्दैन ।’
