
श्रीलंकाका राष्ट्रपति गोटाभाया राजापाक्षको घरअगाडि हिंसात्मक प्रदर्शन भएको छ । श्रीलंकामा खाद्य अभाव हुन थालेपछि राष्ट्रपति गोटाभाया राजापाक्षको घरअगाडि हिंसात्मक प्रदर्शन भएको हो ।
केहि समययता श्रीलंकामा १३ घण्टासम्म लोडसेडिङ‚ पेट्रोलियम पदार्थको संकट‚ खाद्य संकट र औषधिहरूको चरम अभाव देखिन थालेपछि प्रदर्शनकारीहरूले राष्ट्रपति राजापाक्षको घरअगाडि हिंसात्मक प्रदर्शन गरेको बीबीसीले जनाएको छ ।
शान्तिपूर्ण रुपमै सुरु भएको प्रदर्शन केही समयपछि भने हिंसात्मक बन्न पुगेको थियो । प्रदर्शन नियन्त्रणबाहिर जान थालेपछि प्रहरीले अश्रुग्यास‚ पानीका फोहोराहरूको प्रयोग गरिएको थियो ।
केही प्रदर्शनकारीहरूलाई प्रहरीले पक्राउसमेत गरेको छ । प्रदर्शनकारीलाई राष्ट्रपति राजापाक्षले ‘अतिवादी तत्त्व’को संज्ञा दिएका छन् ।
प्रदर्शनकारीहरूले सुरक्षार्थ खटिएका प्रहरीहरूलाई ढुङ्गा प्रहार गर्न थालेपछि स्थित नियन्त्रणबाहिर गएको थियो । श्रीलंकासँग अब पेट्रोलियम पदार्थ खरिदका लागि समेत पर्याप्त रकम नभएको बीबीसीले उल्लेख गरेको छ ।
पछिल्लो समय देखिएको संकटका कारण श्रीलंकामा उद्योग क्षेत्र‚ शिक्षा क्षेत्रसमेत धराशायी बन्दै गएका छन् । पेट्रोल पम्पमा पेट्रोलियम पदार्थका लागि र ग्यास पसलका अगाडि ग्यास सिलिन्डरका लागि मानिसहरूको लामो लाइन देख्नु श्रीलंकाको दिनचर्याजस्तै भइसकेको छ ।
लाम लागेकै अवस्थामा ढलेर अहिलेसम्म पाँच जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
