के का लागि पुगे प्रचण्ड र ओली नेपालगञ्ज ?

१७ चैत्र २०७८, बिहीबार २०:१५

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एमाले अध्यक्ष केपी शर्मा ओली नेपालगञ्ज पुगेका छन्।

कर्णाली प्रदेशका विभिन्न जिल्लाको कार्यक्रममा सहभागी हुन एमाले अध्यक्ष ओली नेपालगञ्ज पुगेका हुन्। बुधबार साँझ नै नेपालगञ्ज पुगेर ओलीले आज कर्णाली प्रदेशको दैलेख, जुम्ला र कालिकोटको कार्यक्रममा सहभागी भइ नेपालगञ्ज फर्किएका छन्।

नेपालगञ्ज बसाइका क्रममा ओलीले आज बिहान नेपालगञ्ज उपमहानगरपालिका–४ मा केही व्यक्तिलाई पार्टी प्रवेश गराए। बुधबार साँझ आउँदा आउँदै नेपालगञ्ज विमानस्थलमै सन्तोष लखेर लगायतलाई पार्टी प्रवेश गराएका थिए।

एमाले बाँकेका पार्टी सचिव रत्न खत्रीले स्थानीय तहको चुनाव नजिकिएकाले त्यसलाई फोकस गरेर एकमना एकतासाथ चुनाव जित्ने गरी लाग्न पार्टी अध्यक्ष ओलीले निर्देशन दिएको जानकारी दिए।

यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड स्व.दामोदर आचार्यको श्रद्धाञ्जली सभामा सहभागी हुन नेपालगञ्ज आएका हुन्। बिहान श्रद्धाञ्जली सभामा सहभागी भएका अध्यक्ष प्रचण्डले अपराह्न पार्टी नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिएका छन्।

युवा नेता नवीन शर्माका अनुसार पार्टी प्रशिक्षणमा अध्यक्ष प्रचण्डले चुनावमा गठबन्धन गरेर जाने तय भएको बताए। अध्यक्ष प्रचण्डले स्थानीय तहमा सर्वे टोली आएर हेरेर कुन ठाउँमा कुन दललाई अगाडि सार्ने निर्णय हुने बताए। उनका अनुसार चैन १९ र २० गते प्रदेशस्तरमा संयुक्त बैठक बसेर गठबन्धनबारे निर्णय हुने बताए ।