सत्तारुढ पाँच दलीय गठबन्धनले बाहिरका दलहरूसँग चुनावी तालमेल गर्न नपाउने

१७ चैत्र २०७८, बिहीबार १५:५७

आसन्न स्थानीय तह निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनले बाहिरका दलहरूसँग चुनावी तालमेल गर्न नपाउने सर्तसहित तालमेल गर्ने निर्णय गरेको छ।

प्रतिपक्षमा रहेका दलहरूसँग तालमेल गर्न नपाउने सर्तसहित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बसेको गठबन्धन बैठकले चुनावी तालमेल गर्ने निर्णय गरेको हो।

स्थानीय तह निर्वाचनमा गठबन्धन सम्बद्ध दलहरूका बीचमा मात्रै चुनावी तालमेल गर्ने निष्कर्ष निकालेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

‘गठबन्धनको बैठकले केन्द्रदेखि स्थानीय तहसम्म निर्वाचनका लागि संयन्त्र निर्माण गर्ने निर्णय गरेको छ, उनले भने, ‘स्थानीय तहको निर्वाचनमा गठबन्धन सम्बद्ध दलहरूले गठबन्धनमा मात्र चुनावी तालमेल गर्ने निष्कर्ष निकालेको छ।’

सर्तसहित चुनावी तालमेलका लागि निर्णय नगरिए गठबन्धनमा रहेका दलहरु नेकपा एमालेसँग मिल्न सक्नेमा कांग्रेस सशंकित थियो। यसअघि गठबन्धनको एउटा दल जनता समाजवादी पार्टी (जसपा)ले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टी बाहेकका जोसुकै दलसँग चुनावी तालमेल गर्न सकिने विकल्प खुला राख्ने निर्णय गरेको थियो।

यस्तै माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले पनि चुनावी तालमेल गर्ने विकल्प खुला राखेका थिए।