चालू आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर पूरा नहुने

१५ चैत्र २०७८, मंगलवार २१:४१

चालू आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर पूरा नहुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षका लागि सरकारले राखेको ७ प्रतिशतको आर्थिक वृद्धिदर पूरा नहुने अवस्था आएको बताएका हुन ।

नेपाल आर्थिक संघ र बैंक तथा वित्तीय संस्था परिसंघले मंगलवार आगामी बजेटबारे सुझाव दिनका लागि आयोजना गरेको कार्यक्रममा उनले विगतका वर्षहरुमा अबलम्बन गरिएका खराब नीतिका कारण अहिले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा पुगेको बताए । अहिले अर्थतन्त्रमा देखिएका समस्या यसअघि लागू गरिएका नीतिको उपज रहेको बताएका छन् ।

उनले कमजोर सरकारी संरचना र अनुसन्धान नगरिकन लादिएका नीतिका कारण सरकारले अपेक्षित आर्थिक वृद्धि र विकास निर्माणका गतिविधि संचालन गर्न नसकेको दाबी पनि गरेका छन् ।

उनले हिजोका नीतिले अहिलेको अवस्था सृजना भएको हो भन्दै आफू सबै गुनासो र चुनौती स्वीकार्न आफू तयार रहेको बताए ।

नेपालमा स्रोत साधन भएपनि त्यसको उचित प्रयोग नहुँदा गरिबी र अभाब बढेको बताए । स्रोतको व्यवस्थापन र परिचालन गरेर समृद्धि ल्याउने उनले प्रतिबद्धता ब्याक्त गरे ।
मन्त्री शर्माले अनुसन्धान बिना कुनै देशले प्रगति नगरेको भन्दै यसलाई संरचनागत सुधार गर्न आवश्यक रहेको बताए ।

उनले आगामी बजेट आयातमुखीभन्दा पनि उत्पादनमुखी बनाउन आवश्यक रहेको बताए ।