कांग्रेसले चुनावी गठबन्धन गर्ने निर्णय गर्‍यो

१५ चैत्र २०७८, मंगलवार १३:५२

चुनावी गठबन्धन गर्ने गरी निर्णयको खाका सत्तारूढ दल नेपाली कांग्रेसले तयार पारेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान साढे ११ बजे बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले चुनावी गठबन्धन गर्ने गरी निर्णयको खाका तयार पारेको हो ।

“बिहान बसेको बैठकमा हामी पदाधिकारीहरूले आफ्नो विचार राखेर हिँडेका छाँ । महामन्त्रीज्यूहरूले निर्णय लेखेर कार्यसम्पादनका साथस्हरूसँग छलफल गर्ने र केन्द्रीय समितिबाट अनुमोदन गराउने समझदारी भएको छ,” सहमहामन्त्री भीष्मराज आङदेम्बेले भने, “गठबन्धन कुन तहबाट कसरी गर्ने भन्ने निर्णय भने पछि हुनेछ ।”

उनले अहिले नै कुन तहमा गठबन्धनको निर्णय कसले गर्ने भन्ने विषय नटुंगिएको जानकारी दिए ।
प्रवक्तासहित उपसभापतिद्वय र महामन्त्रीद्वयको बैठक बसेपछि सहमहामन्त्रीसहितको पदाधिकारी बैठक बसेको थियो । तेस्रो चरणमा सभापतिसहित पदाधिकारीको बैठक बसेर निर्णय अुनुमोदन गरेपछि त्यही निर्णय अनुमोदनका लागि केन्द्रीय समितिमा पेस हुने बताइएको छ ।