भ्युटावर बनाउने सोचको विकास एमालेले ल्याएको हो : अध्यक्ष ओली

१५ चैत्र २०७८, मंगलवार १३:२१

नेपालमा भ्युटावर बनाउने सोचको विकास एमालेले ल्याएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । आवश्यकताभन्दा बढी भ्यु टावर निर्माण भइरहेको भनेर आलोचना भएका बेला ओलीले यस्तो बताएका हुन् ।

एमालेको सरकार नभएको भए यस्तो प्रकारको भ्युटावर बनाउने र यहाँ लिफ्ट राख्ने सोच साधारणतया भन्ने हो भने आउने थिएन । किनभने विकास सम्बन्धी अवधारणा आएको हुनाले त्यो अवधारणालाई अगाडि बढाउँदा स्वभाविक रूपमा यी कुराहरू भए,’ आज रूपन्देहीको तिलोत्तमा नगरपालिकाको व्यवसायिक बहुउद्देश्यीय भवन (भ्यु टावर) उद्घाटन समारोहमा ओलीले भने ।

उनले एमालेको पालामा धेरै विकास निर्माणका काम भएको पनि दाबी गरे । ‘हामी सरकारमा आएपछि देशभरिमा के भयो, देशको अवस्था । भारतबाट मात्रै निर्भर भइरहेको ठाउँमा चीनतिरबाट यातायात पारवहन सन्धि सम्झौताहरू गर्ने, आवागमन दुवैतिरबाट खोल्ने, नाकाहरू खोल्ने । अहिले उत्तरका जिल्लाहरू पनि दुर्गम रहेका छैनन् । दुर्गमलाई पनि हामीले सुगम बनाएका छौँ,’ ओलीले भने ।