
हृदयेश त्रिपाठीसँगै तत्कालीन राष्ट्रिय जनता पार्टी छाडेर स्वतन्त्र राजनीतिक समूहमा रहेका पूर्वमन्त्री द्वय वृजेश कुमार गुप्ता र धर्मबहादुर लाल श्रीवास्तवले त्रिपाठी समूह छाडेर एमाले रोजेका हुन् ।
गुप्ता प्रतिनिधिसभा सदस्य र श्रीवास्तव प्रदेशसभा सदस्य हुन् । दुवै नेता सहित हजारौं कार्यकर्तालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमवार एमालेमा भित्र्याए ।
गुप्ताले २०७० को निर्वाचन तत्कालिन तराई मधेश लोकतान्त्रिक पार्टीबाट जितेका थिए । सूर्य चिन्ह लिएर चुनाव जिते पनि स्वतन्त्र सांसदका रुपमा रहेका कपिलवस्तुका घरानियाँ प्रभावशाली राजनीतिक व्यक्तिहरु रहेको एमाले कपिलवस्तुका इन्चार्ज बलराम अधिकारीले जानकारी दिए ।
दुई जना पूर्वमन्त्री पनि हुन् । गुप्ता कपिलवस्तु क्षेत्र नम्बर २ बाट २०७४ सालमा प्रतिनिधि सभामा विजयी भएका थिए । नेपाली कांग्रेसका तत्कालीन जिल्ला सभापति सुरेन्द्रराज आचार्यलाई ३ हजार ५८१ मतान्तरले पराजित गरेर उनी चर्चामा आएका थिए ।
गुप्ताले कुल ३५ हजार १२७ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी आचार्यले ३१ हजार ५६६ मत ल्याएका थिए । तमलोपाबाट छुट्टिएको हृदयेश त्रिपाठीको स्वतन्त्र समूहबाट उनले कपिलवस्तु क्षेत्र नम्बर २ बाट गुप्ता सूर्य चिन्ह लिएर चुनाव लडेर विजयी भएका थिए । योसँगै उनी कपिलवस्तुबाटै चौथो पटक सांसद निर्वाचित भएका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको पृष्ठभूमिबाट आएका उनी २०५६ सालमा राप्रपाबाट निर्वाचित भएका थिए । मधेस आन्दोलनपछि तराई मधेस लोकतान्त्रिक पार्टीमा प्रवेश गरेर निरन्तर राजनीतिमा रहेका उनी सोही पार्टीबाट पहिलो संविधानसभा र दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित भएर २०६१ सालमा भौतिक निर्माण मन्त्री र २०६९ साल कानुनमन्त्री बनेका थिए ।
गत मंसिरमा सांसद् हृदयेश त्रिपाठीले नेतृत्वमा गठन भएको जनता प्रगतिशील पार्टीमा गुप्ता रहेका थिए । त्रिपाठी पनि २०७४ को निर्वाचनमा चुनाव चिह्न सूर्य लिएर विजयी भएका हुन् ।
उनी सूर्य चिन्ह लिएर प्रतिनिधिसभामा नवलपरासी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । गुप्तासँगै एमालेमा आउन लागेका प्रदेश सभातर्फ धर्मबहादुरलाल श्रीवास्तव कपिलवस्तु क्षेत्र नम्बर २ को ‘ख’ निर्वाचित भएका थिए ।
लुम्बिनीमा एमाले नेतृत्वको सरकार ढल्ने समयमा उनी मन्त्री बनेका थिए । स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै कपिलवस्तुमा दल अदलबदल तीब्र रुपमा चलेको छ । लोकान्तरबाट
