बस एक्कासि खोलामा खसेर कसरी दुर्घटना भयो अनुसन्धान हुदै ?

१३ चैत्र २०७८, आईतवार १४:२५

सर्लाहीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु र ३० जना घाइते भएका छन् ।आइतबार बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोरमा यात्रुबाहक बस खोलामा खसेको हो ।

उक्त बसमा सवार ४ जना यात्रुको घटनास्थलमै मृत्यु भएको र ३० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । वीरगञ्जबाट जनकपुरधामतर्फ आउँदै गरेको ना ४ ख ८५५५ नम्बरको यात्रुबाहक बस फुलजोर खोलाको बार भत्काउँदै खोलामा खसेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

गुडिरहेको बस एक्कासि खोलामा खसेको उनले जानकारी दिए । दुर्घटनामा मृत्यु हुनेहरूको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । मृतकहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको र दुर्घटनामा घाइते भएकाहरुको लालबन्दी र रानीस्थित स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

डीएसपी बुढाथोकीले गुडिरहेको सो बसको अगाडीको चक्का अचानक पड्किएर अनियन्त्रित भई बस पुलबाट तल खसेको बताईएपनि अनुसन्धान भइरहेको बताएका छन् ।