ओलीलाई किन नेपालले रावण,कंश र शिशुपालसँग तुलना गरे ?

१३ चैत्र २०७८, आईतवार १३:५८

नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई रावण, कंश र शिशुपालसँग नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललेतुलना गरेका छन्। ओलीले रावण, कंश र शिशुपालले गरेका गल्ती गरिरहेकाले उनीहरूसँग ओलीलाई तुलना गरेर अध्ययन गर्न सकिने समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित बैठकमा नेपालले बताए।

ओली कम्युनिष्टको आवरणमा जन्मिएको तानाशाह भएको टिप्पणी गर्दै उनले हिटलर डेमोक्रेसीको आवरणमा तानाशाह बने जसरी ओली पनि तानाशाह बनेको आरोप उनले लगाए।

केपीको बारेमा चर्चा गर्दा ठ्याक्क रावणमा के के प्रवृतिहरू देखिए, कंशमा के के प्रवृतिहरू देखिए, शिशुपालले सय ओटा के के अपराध गर्‍यो र हिटलरले के के कुकृत्य गरेको थियो ठ्याक्क त्यसलाई तुलनात्मक अध्ययन गरेर केपी ओलीलाई देखाउन सकिन्छ,” उनले भने, ‘‘ डेमोक्रेसीको आवरणमा हिटलर तानाशाही भयो, डेमोक्रेसीको आवरणमा बोल्यो, डेमोक्रेसीले नै जन्माएको हो हिटलर। तर डेमोक्रेसीले सबैलाई राम्रो मात्र जन्माउँदो रहेनछ तानाशाह पनि जन्माउँछ।”

कांग्रेसलगायत अन्य विपक्षी दलले कम्युनिष्ट अधिनायकवादी हुने आरोप लगाउने गरेकोमा कम्युनिष्टको आवरणमा पनि तानाशाहहरू जन्मिने उनले बताए। ‘‘डेमोक्रेसी र समाजवादको आवरणमा, साम्यवादको आवरणमा, कम्युनिष्टहरूको आवरणमा पनि तानाशाह जन्मिन्छ,” उनले भने, ‘‘कम्युनिष्ट भएकैले सबै तानाशाह हुन्छन् भन्ने कुरा होइन यो पात्र विशेषमा उत्पन्न भएको विकृत प्रवृति हो।’’