राउतसहित जनमत पार्टीका नेताले सर्वसाधारणसँग भेटघाट गर्दै किन माटो सङ्कलन गरे ?

९ चैत्र २०७८, बुधबार १०:३२

स्थानीय तह निर्वाचनका लागि अभियानमा डा.सीके राउत नेतृत्वको जनमत पार्टीले तीव्रता दिएको छ । लुम्बिनी, मधेस र प्रदेश नम्बर १ को प्रत्येक पालिकामा स्थानीय तह चुनाव केन्द्रित जनमत माटो यात्राका क्रममा राउत पुग्दैछन् ।

राउतसहित जनमत पार्टीका नेताले विभिन्न स्थानबाट पहिलो चरणमा लुम्बिनी प्रदेशको विभिन्न स्थानीय तहमा पुगेर सर्वसाधारणसँग भेटघाट गर्दै माटो सङ्कलन गरेका थिए । जनमत पार्टी अहिले मधेस प्रदेश केन्द्रित जनमत माटो यात्रा गरिरहेको छ । बारा जिल्लाको विभिन्न स्थानीय तहमा माटो यात्रापछि ६ चैतदेखि सप्तरी जिल्लाको विभिन्न स्थानीय तहमा यात्रा जारी रहेको जनमत पार्टीका नेता बीपी साहले जानकारी दिए । सप्तरी पछि रौतहट, सिरहा, सर्लाहीलगायतका जिल्लामा माटो यात्रा हुने उनले बताए ।

नेता साहका अनुसार किसान, आम सर्वसाधारण तथा मतदातासँग प्रत्यक्ष रूपमा भेटघाट गर्न जनमत माटो यात्रामा तीव्रता दिइएको हो । ‘तराई(मधेसका गाउँ गाउँमा पुगेर अध्यक्षज्यूले सर्वसाधारणलाई भेट्दै हुनुहुन्छ,’ नेता साहले भने, ‘मधेस एकता उद्यान स्थापनाका लागि तराई मधेसको विभिन्न स्थानीय तहबाट माटो सङ्कलन गर्ने कार्यक्रमको रूपमा जनमत माटो यात्रा सुरु गरिएको थियो । निर्वाचन नजिकिएपछि यसलाई निर्वाचन केन्द्रित कार्यक्रमको रूपमा पनि अगाडि सारिएको छ ।’

स्थानीय तहको निर्वाचनमा जनमत पार्टीले केन्द्र स्तरबाटै कुनै पार्टीसँग गठबन्धन नगरी एक्लै निर्वाचनमा जाने नेता साहको भनाइ छ । ‘हाम्रो पार्टीले केन्द्रीय तहबाटै कुनै पार्टीसँग गठबन्धन गर्दैन । स्थानीय नेतृत्वले आफू अनुकूल कोहीसँग पनि तालमेल गर्न सक्छन्,’ उनले भने, ‘चुनावको तयारीमा हामी धेरै पहिलेदेखि नै कभरेज अभियान, बुथबुथ मजबुत अभियान र जनमत माटो यात्रा गरिरहेकोले ग्राउण्डमा हाम्रो शक्तिको अनुमान हामीले लगाएका छौँ । त्यस कारण हामी एक्लै चुनावमा गएर पनि धेरै राम्रो नतिजा ल्याउनेमा विश्वस्त छौँ ।’