पूर्व जनमुक्ति सेनाका सेक्सन कमाण्डर रानाको उपचारमा अब खर्चको दुःख हुन नदिने प्रचण्डको प्रतिबद्धता

८ चैत्र २०७८, मंगलवार ११:५१

वीर अस्पतालमा उपचाररत पूर्व जनमुक्ति सेनाका सेक्सन कमाण्डर भक्त रानालाई भेटेर स्वास्थ्य अवस्थाबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी लिएका छन्।

पूर्व जनमुक्ति सेनाका योद्धा (सेक्सन कमान्डर) काभ्रे जिल्लाको महाभारत गाउँपालिका वडा नम्बर ६ निवासीका भक्त रानालाई भेट गरि प्रचण्डले उपचारको लागि अब खर्चको दुःख हुन नदिने प्रतिबद्धता व्यक्त गरेका हुन्।
प्रचण्डले रानाको श्रीमती वर्षा रानाको रोजगारी र उनका ७ वर्षीय छोराको शिक्षादिक्षाका लागि पनि उचित पहलकदमी लिने प्रतिबद्धता गरे ।

रानालाई मकवानपुरको झुरझुरेमा भएको दोहोरो भीडन्तका बेला टाउकोमा गोलीको छर्रा लागेर घाइते थिए। टाउकोमा लागेको चोट फेरि बल्झिएपछि रानाको खुट्टामा इन्फेक्सन देखिएको थियो। टाउकोमा नसा ब्लक भएपछि रानाको दुबै खुट्टा अप्रेसन गरेर फाल्नु परेको उनको उपचारमा संलग्न चिकित्सकहरुले प्रचण्डलाई बिफ्रिङ गरे।

रानाको श्रीमती वर्षा राना र उपचारमा संलग्न चिकित्सकमार्फत उनको उपचार र आर्थिक अवस्थाबारे जानकारी लिएपछि अध्यक्ष प्रचण्डले उपचारका लागि अब खर्चको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे।