प्रधानमन्त्रीसंग प्रचण्डले राखे यस्ता माग सशस्त्र युद्धका घाइते र शहीद भएकाको परिवारका लागि

८ चैत्र २०७८, मंगलवार ११:०७

आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सशस्त्र युद्धका घाइतेको उपचारको विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ध्यानाकर्षण गराएका छन्।

प्रचण्डले सशस्त्र द्वन्द्वका कारण अपाङ्गता भएका व्यक्तिको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि – २०७४ लाई संशोधन, सशस्त्र द्वन्द्वमा घाइते भइ अपाङ्गता भएका व्यक्तिहरुको लागत संकलन कार्यदलमा सूचीकृत हुन छुटेका घाइते तथा अपाङ्गताहरुलाई सूचीकृत गर्ने लगायतका माग राखेका छन्। आसन्न स्थानीय तहको निर्वाचनको मुखैमा प्रचण्डले घाइतेसँग भेट्नु र प्रधानमन्त्रीसँ यस्ता माग राख्‍नुलाई महत्वका साथ हेरिएको छ।

सशस्त्र द्वन्द्वमा घाइते भइ अपाङ्गता भएका व्यक्तिलाई सुविधासहित गणतान्त्रिक सेनानीको परिचयपत्र र सम्मानपत्र वितरण, जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन, जनजाति आन्दोलन लगायतका प्रगतिशील आन्दोलनमा शहीद भएकाको परिवारलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने पुरक बजेटको व्यवस्थालाई कार्यविधि बनाई यथासीघ्र कार्यान्वयन गर्नुपर्ने लगायतका विषयमा ध्यानाकर्षण गराएका हुन्।

आजै प्रचण्डले सशस्त्र युद्धका घाइते भक्त रानालाई वीर अस्पतालमा पुगेर भेटेका छन् । सशस्त्र द्वन्द्वका क्रममा जेल जीवनयापन गरी यातना पीडित भएका व्यक्तिहरुलाई सम्मान पत्रसहित राहत उपलब्ध गराउने विषयमा पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको प्रचण्डको सचिवालयले जनाएको छ।