
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रभावशाली नेता राजेशमान सिंह नेकपा एमालेमा प्रवेश गर्ने घोषणा गरे पनि सोमबार जनता समाजवादी पार्टी (जसपामा) प्रवेश गरेका छन् । जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले नेता सिंहलाई माला र खादा उडाएर सोमबार वीरगन्जमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टीमा प्रवेश गराएका हुन् ।
२०७४ को निर्वाचनमा वीरगन्ज महानगरको नगरप्रमुखमा पराजित भएका सिंहले गत माघ २८ गते वीरगन्जमा पत्रकार सम्मेलन गरेर आफू लोसपा परित्याग गरेर एमालेमा प्रवेश गर्ने घोषणा गरेका थिए । उनलाई एमालेमा औपचारिकरुपमा प्रवेश गराउन चैत ८ गते वीरगन्जमा बृहत कार्यक्रम गरेर एमाले अध्यक्ष केपी ओलीले पार्टीमा स्वागत गर्ने कार्यक्रम पनि एमालेले तय गरिसकेको थियो ।
एमालेले वीरगन्ज महानगरको नगरप्रमुखमा उम्मेदवार बनाउने आश्वासन पाएर नेता सिंहले एमाले प्रवेश गर्ने घोषणा गरेको चर्चा चलेको थियो । तर, जसपाबाट निर्वाचित वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय सरावगी गत फागुन २८ गते एमालेमा प्रवेश गरेपछि नेता सिंह एमाले नेतृत्वप्रति रुष्ट बनेका थिए ।
एमाले नेतृत्वले आगामी स्थानीय तहको निर्वाचनमा वीरगन्जको नगर प्रमुखमा सरावगीलाई उम्मेदवार बनाउने शर्तमा पार्टी प्रवेश गराएपछि नेता सिंह एमाले नेतृत्व प्रति रुष्ट बनेका थिए ।
