बजारमा देखिएको तरलता अभावकाे असर घरजग्गा कारोबारमा परेको छैन ।
नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत घर जग्गाको कारोबारमा कडाइ गरे पनि अवस्था त्यस्तो नभएको पाइएको छ । भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार फागुन महिनामा मात्रै ७४ हजार ३६ लिखत पारित भएको छ । यस्तै घर जग्गाको नामसारी मात्रै पाँच हजार नौ वटा भएका छन् । संशोधनतर्फ कूल चार हजार ५३९, हाल साविकतर्फ दुई हजार ६९३, घर जग्गा रोक्कातर्फ ३६ हजार ५७२ र फुकुवातर्फ कूल २४ हजार ७४९ रहेको विभागको विवरण छ ।
घर जग्गाको सबै विवरण हेर्दा फागुन महिनामा मात्रै एक लाख ६२ हजार ६७८ काम भएका देखिन्छ । गत माघमा कूल एक लाख ३२ हजार ५३ वटा घर जग्गाको काम भएको देखिन्छ । यस आधारमा पनि माघको तुलनामा फागुनमा बढी काम भएको स्पष्ट हुन जान्छ । गत माघमा कूल ५९ हजार ५१६ वटा लिखत पारित भएका थिए । यस्तै घर जग्गाको नामसारीतर्फ चार हजार २७७ वटा थिए । संशोधनतर्फ तीन हजार ६२२, हाल साविक दुई हजार १४९, रोक्का ३० हजार ९८७ र फुकुवातर्फ १८ हजार ६७६ वटा भएका थिए ।
बैंक तथा वित्तीय संस्थाले कर्जा दिएनन् वा कारोबार भएन भन्ने विषयलाई यो तथ्याङ्कले भने अस्वीकार गरेको जस्तो देखिन्छ । विभागको विवरण अनुसार फागुन महिनामा घर जग्गाको कारोबारबाट मात्रै रु छ अर्ब २६ करोड १६ लाख १० हजार १०५ बराबरको राजस्व सङ्कलन भएको छ । रजिष्ट्रेसन दस्तुरबाट तीन अर्ब ७८ करोड ११ लाख ८६ हजार ७९९ ,अतिरिक्त शुल्कबाट चार लाख दुई हजार ५४५ पूँजीगत लाभकरबाट एक अर्ब ४४ करोड ४६ लाख तीन हजार तीन बराबरको राजश्व उठाइएको छ ।
सो महिना मात्रै घर जग्गाको कारोबारमा ५५ करोड ६५ लाख ९४ हजार ४०९ बराबरको छुट समेत पाएका छन् । बागमतीतर्फ मालपोत कार्यालय चावहिलमा फागुन महिनामा ३८ करोड ३५ लाख ९८ हजार, मालपोत कार्यालय डिल्लीबजारले ४५ करोड ३२ लाख छ हजार ३५३ बराबरको राजस्व सङ्कलन गरेको छ । मालपोत कार्यालय कलङ्कीले ३९ करोड १६ लाख ८५ हजार ५०२, मालपोत कार्यालय साँखुले १५ करोड ७४ लाख ८० हजार ५१२, मालपोत कार्यालय मनमैजुले १३ करोड २९ लाख ३२ लाख ७५६, मालपोत कार्यालय टोखाले ११ करोड २९ लाख २४ हजार ४१९ बराबरको राजस्व संकलन गरेको छ ।
यस्तै, काठमाडौँ उपत्यकामा सबैभन्दा बढी लखनखेल मालपोत कार्यालयले बढी राजस्व सङ्कलन गरेको छ । विभागको विवरण अनुसार लखनखेल मालपोतले ५४ करोड २२ लाख ११ हजार १३९ बराबरको राजस्व सङ्कलन भएको छ । यस्तै, मालपोत कार्यालय बाँकेले ११ करोड २३ हजार ४०९,मालपोत कार्यालय कास्कीले १२ करोड ४५ लाख ३० हजार ९९२, मालपोत कार्यालय चितवनले १६ करोड २८ लाख ३४ हजार ८७७ बराबरको राजस्व सङ्कलन गरेको छ । विभागका अनुसार मालपोत कार्यालय रुपन्देहीले नौ करोड १९ लाख २६ हजार ३२४, मापलपोत कार्यालय चन्द्रौटाले तीन करोड ३५ लाख ८४ हजार ३३८ बराबरको राजस्व सङ्कलन गरेको छ ।
