वाणिज्य बैंकहरुमा फागुन महिनामा २२ अर्ब निक्षेप थपिएको छ । यस्तै उक्त महिनामा बैंकहरुले थप १७ अर्ब कर्जा विस्तार गरेका छन् ।
बैंकहरुमा निक्षेप थपिने क्रमले सुस्ताएपछि बैंकहरुले कर्जा कर्जा लगानीमा नियन्त्रण गर्न थालेका छन् । यसअघि बैंकहरुले निक्षेप संकलन भन्दा अधिक कर्जा लगानी गर्दै आएका थिए ।
विगतका महिनामा निक्षेप नथपिए पनि कर्जा लगानीलाई निरन्तरता दिँदै आएका बैंकहरुले फागुनमा कर्जा लगानीमा केही नियन्त्रण गरेका हुन । जसले गर्दा फागुनको अन्तिम सातामा ७ अर्ब निक्षेप थपिदा ३ अर्ब मात्र कर्जा लगानी गरेका छन । गत फागुन महिनामा नेपालका २७ वटा वाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्घिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको देखिएको छ । नेपाल बैंकको निक्षेप २१.६७ प्रतिशतले वृद्धि भएको देखिन्छ भने कर्जा विस्तार ३०.३५ प्रतिशतले वृद्धि भएको देखिन्छ ।
वाणिज्य बैंकहरुमध्ये १७ वटा बैंकहरुको निक्षेप वृद्धि भएको छ भने १० वटा वाणिज्य बैंकहरुको निक्षेपमा गिरावट भएको देखिन्छ । वाणिज्य बैंकहरुको औसत निक्षेप वृद्धिदर ५ प्रतिशत रहेको छ ।
त्यसैगरी २७ वटै बाणिज्य बैंकहरुको कर्जा विस्तारमा वृद्घि भएको छ । औसतमा वाणिज्य बैंकहरुको कर्जा विस्तारमा १६ प्रतिशतको वृद्धि भएको देखिन्छ । अहिले वाणिज्य बैंकहरुसँग कुल निक्षेप ४३ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ भने कुल क्रृण ४१ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ ।
फागुन महिनामा मात्रै वाणिज्य बैंकहरुको निक्षेप २२ अर्ब रुपैयाँले बढेको छ भने कर्जा प्रबाह १७ अर्ब रुपैयाँले विस्तार भएको छ ।
नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकअनुसार यस अवधिमा १९ वटा बाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) नेपाल राष्ट्र बैंकले तोकेको सीमा ९० प्रतिशतभन्दा बढी रहेको छ भने नेपाल बैंकको कर्जा निक्षेप अनुपात(सीडी रेसियो) भने ९०.०३ प्रतिशत रहेको छ । औसतमा बैंकहरुको कर्जा निक्षेप अनुपात ९०.९९ प्रतिशत रहेको छ ।
नेपाल राष्ट्र बैंकले आयातमा कडाई गरेयता बैंकहरुले विदेशी मुद्राको कर्जा नियन्त्रण गर्दा फागुन लागेयता विदेशी मुद्राको कर्जा निरन्तर घटिरहेको छ । फागुनको अन्तिम साता वाणिज्य बैंकहरुमा विदेशी मुद्राको निक्षेप एक अर्ब निक्षेप थपिएको छ भने कर्जा लगानी गरेका छैनन् ।
