जनताका हक अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्नु सरकारको प्राथमिकता हो : मन्त्री श्रेष्ठ

४ चैत्र २०७८, शुक्रबार १७:३६

संविधानमा लिपिबद्ध गरिएका जनताका अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्ने विषय अहिलेको सरकारको प्राथमिकतामा रहेको भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले बताएकी छन्। जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण समारोहमा बोल्दै शुक्रवार भक्तपुरमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले यस्तो बताएकी हुन्।

मध्यथिमि नगरपालिका (साविक वडा नं. ६ र ८) का जग्गाविहीनहरूलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गर्दै उनले भनिन्, ‘नेपाल सरकारको अत्यन्तै उच्च प्राथमिकतामा रहेको विषय भनेको संविधानमा लिपिबद्ध गरिएका जनताका हक अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्नु हो । यसलाई वर्तमान सरकारले उच्च प्राथमिकतामा राखेको छ ।

संविधानमा व्यवस्था भएअनुसार भूमिहीनहरूलाई जग्गा उपलब्ध गराउने, अव्यवस्थित बसोवास गर्नेहरूको व्यवस्थापन गर्ने काम सम्पन्न गर्नका लागि राष्ट्रिय भूमि आयोगले नेपालको इतिहासमा पहिलो पटक ऐन नै बनाएर यसलाई अघि बढाएको छ ।’