विवेकशील साझाको २६ केन्द्रीय सदस्यलाई जिम्मेवारीमुक्त

१ चैत्र २०७८, मंगलवार ११:३८

कार्यसम्पादन समिति र केन्द्रीय समितिबाट विवेकशील साझा पार्टीले २६ जना नेतालाई हटाएको छ।

पार्टीलाई लेबी पनि नतिरेको तथा कार्यसम्पादन र केन्द्रीय समितिमा रहेर पनि पदीय जिम्मेवारी बहन नगरेको भन्दै विवेकशील साझाको कार्यसम्पादन समितिले २६ केन्द्रीय सदस्यलाई जिम्मेवारीमुक्त गरेको छ।

बागमती प्रदेश सभा सांसदसमेत रहेका पार्टीका नेता रमेश पौड्यालसहित २६ केन्द्रीय सदस्यलाई पार्टीले जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको प्रवक्ता शरदराज पाठकले जानकारी दिए।

फागुन २९ बसेको पार्टीको कार्यसम्पादन समिति बैठकले पार्टीमा जिम्मेवारी बहन नगर्ने २६ जनाको जिम्मेवारी हेरफेर गरेको हो,’ प्रवक्ता पाठकले भने, ‘कार्यसम्पादन र केन्द्रीय समितिमा रहेर पनि उहाँहरूले पदीय जिम्मेवारी बहन गर्नुभएन। कतिपय साथीहरू समानान्तर गतिविधिमा संलग्न हुनुभयो, यसले पार्टीलाई नै क्षति हुने देखियो।’

२६ केन्द्रीय नेताको जिम्मेवारी खोसेकोमा एक जना बागमती प्रदेश सभा सदस्य पनि छन्। ‘उहाँले सांसदको भूमिका भने निर्वाह गरिरहनुभएको छ,’ उनले भने, ‘तर पदीय जिम्मेवारीअनुसार उहाँ केन्द्रीय समितिका बैठकमा लगातार अनुपस्थित रहनुभयो।’

पार्टीका कुनै पनि कार्यक्रममा सरिक नहुने, केन्द्रीय समिति बैठकमा लगातार अनुपस्थित हुने र कतिपयले समानान्तर गतिविधि र लेबीसमेत नतिरेकोले जिम्मेवारी हेरफेर गर्नुपरेको प्रवक्ता पाठक बताउँछन्।