वाणिज्य बैंकहरूमा निक्षेप दुई अर्बले बढ्दा एक अर्बले घट्यो कर्जा लगानी

३० फाल्गुन २०७८, सोमबार २०:४२

पछिल्लो केहि दिन यता वाणिज्य बैंकका निक्षेप संकलन बढ्दो देखिएको छ। नेपाल बैंकर्स संघको पछिल्लो तथ्यांक अनुसार वाणिज्य बैंकहरुमा एक सातामा कूल निक्षेप २ अर्बले बढेको छ।

वाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा ब्याजदर बढाएपछि निक्षेप बढेको छ भने कर्जा लगानी घटेको हो। त्यस्तै, कूल लगानी भने १ अर्बले घटेको छ। संघको तथ्यांक अनुसार फागुन २७ गतेसम्म कूल निक्षेप बढेर ४३ खर्ब २६ अर्ब पुगेको छ।

फागुन २० गतेसम्म कूल निक्षेप ४३ खर्ब २४ अर्ब थियो। फागुन १३ गतेसम्म कूल निक्षेप ४३ खर्ब १३ अर्ब थियो भने फागुन ६ गतेसम्म कूल निक्षेप ४३ खर्ब १२ अर्ब थियो।

माघ मसान्तसम्म भने उक्त कूल निक्षेप ४३ खर्ब ११ अर्ब थियो। त्यस्तै, एक सातामा कूल लगानी १ अर्बले घटेको छ। फागुन २७ गतेसम्म कूल लगानी ४१ खर्ब ६९ अर्बमा झरेको छ। फागुन २० गतेसम्म कूल लगानी ४१ खर्ब ७० अर्ब थियो।

उक्त लगानी फागुन १३ गतेसम्म ४१ खर्ब ६५ अर्ब र फागुन ६ गतेसम्म ४१ खर्ब ५९ अर्ब थियो। माघ मसान्तसम्म भने उक्त लगानी ४१ खर्ब ५५ अर्ब रहेको बैंकर्स संघको तथ्यांकमा उल्लेख छ। संघको तथ्यांक अनुसार फागुन लागेपछि निक्षेप १५ अर्ब बढ्दा कर्जा लगानी १४ अर्ब बढेको छ।