
आफ्ना पार्टीका केही नेता कार्यकर्ता एमसीसीको विरोध गर्दै एमालेमा प्रवेश गरेकोप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आश्चर्य प्रकट गरेका छन् । एमसीसीको विरोध गरेर एमालेमा प्रवेश गर्नु लाजमर्दो र अनौठो कुरा भएको प्रचण्डले बताए ।
‘केही साथीहरुको अचम्म के लाग्छ भने एमसीसीको विरोध गरेर एमालेमा प्रवेश गर्ने चाहिँ अनौठो र लाजमर्दो कुरा हो । बरू विजुक्छेकामा जानु नि, किरणजीकोमा जानु, विप्लवकोमा जानु त्यहाँ गएको भए त विरोध गरेको पनि सुहाउँथ्यो नि,’ उनले भने ।
प्रदेश १ समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले पार्टी परित्याग गर्ने र आउने जाने प्रक्रिया चलिरहने पनि बताए ।
प्रचण्डले एमालेसँग आगामी निर्वाचनमा मिल्ने कुनै सम्भावना नरहेको बताए । ‘तत्काल फेरि एमालेसँग सहमति हुने सम्भावना कहिँकतै देखिएको छैन ।
हामी राष्ट्रिय स्वाधिनताको विषयसँग एमालेसँग केही सहमति हुनसक्छ भनेर नारायणकाजीजी र म नगएको होइन । तर, कहिँकतै एमालेमा सकारात्मक चिज भन्ने देखिएन । अहिले एमालेसँग वा केपी गुटसँग तत्काल कुनै सहमति सहकार्य हुने स्थिति छैन,’ उनले भने ।
