नेपाली ५ सय र एक हजारका नोटमा प्रतिबन्ध लाग्छ त ? राष्ट्र बैक भन्छ- छलफलै भएको छैन

२९ फाल्गुन २०७८, आईतवार ०७:५७

नेपालमा केही दिनदेखि नेपाली ५ सय र एक हजारका नोट नेपाल राष्ट्र बैंकले प्रतिबन्ध लगाउँदैछ भन्ने हल्ला  फैलाइएको छ ।

यसले धेरैलाई अन्योलमा पारेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अहिले त्यस्तो कुनै तयारी छैन ।

प्रवक्ता गुणाकर भट्टका अनुसार अहिले नेपालमा प्रतिबन्ध लगाउनुपर्ने कुनै कारण नभएकाले यसबारे राष्ट्र बैंकमा कुनै छलफल भएको छैन । बाहिर आएका हल्ला हल्ला मात्रै भएको उनको भनाइ छ ।

त्यसो त भारतमा मोदी सरकारले यस प्रकृतिको प्रतिबन्ध आफ्नो देशमा लगाइसकेको छ । कालो धन नियन्त्रण गर्न प्रभावकारी मानिने यो कदम त्यति सहज भने छैन । नेपाल सरकारले कालान्तरमा यस प्रकारको कदम चाल्न त सक्छ तर त्यो कुराको सुइँको कसैले पनि पाउने छैन ।

विभिन्न राष्ट्रहरुले भ्रष्टाचार तथा कालोधन निर्मुल गर्न भन्दै नोटबन्दीको निर्णय गर्ने गरेका उदहारण छन् । २३ कात्तिक २०७३ मा भारत सरकारले एक्कासी ५०० र हजार दरमा नोट प्रतिबन्धित गर्ने निर्णय गरेको थियो । भारतमा नोट बन्दी हुँदा केबल ३ जनालाई मात्र थाहा थियो । कालो धन नियन्त्रण गर्न भन्दै छिमेकी भारतले गरेको नोटबन्दीको यो निर्णयले नेपाल सरकारलाई भने अहिलेसम्म पिरोलेको छ ।

७ करोड रुपैयाँ भारु नसाटिएर अहिले पनि केन्द्रीय बैंकको ढुकुटीमा थन्किएको छ । त्यस्तै, अहिले लगानी योग्य रकम अभाव भएको र कतै कालोधन लुकाइएको छ कि भन्ने आशंकामा ठुला नोट नचल्ने विषय सामाजिक सञ्जालमा चर्चा गरिएको हुनसक्ने कतिपयकाे आंकलन छ ।

विश्वको इतिहाँसमा भारत पछि कतार सरकारले पनि १ जुलाई २०२१ देखि चौथो संस्करणका बैंक नोटहरु चलनचल्तीबाट हटाउने निर्णय गरेको थियो । त्यसअघि म्यानमार सरकारले नोटबन्दी गरेको थियो । तर, धेरैजसो देशमा यसले चर्चा गरिएजस्तो नतिजा भने दिएको छैन ।