सरकारको चालू खाता ४ खर्ब बढीले घाटामा

२७ फाल्गुन २०७८, शुक्रबार १८:५०

सरकारको चालू खाता ४ खर्ब बढीले घाटामा देखिएको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको सात महिनाको तथ्यांकअनुसार चालू खाता ४ खर्ब १३ अर्ब ८६ करोडले घाटामा देखिएको हो।

अघिल्लो वर्षको सोही अवधिमा चालू खाता १ खर्ब ४ अर्ब ३९ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८९ करोड २१ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा ३ अर्ब ४७ करोडले घाटामा रहेको छ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १९.४ प्रतिशतले कमी आई ६ अर्ब ३१ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८०.६ प्रतिशतले वृद्धि भई १६ अर्ब २९ करोड पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ८३ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ९ अर्ब २ करोड रहेको थियो।

समीक्षा अवधिमा अन्तर्राष्ट्रिय मुद्रा कोषवाट १३ अर्ब ०८ करोड (अमेरिकी डलर ११०.४२ मिलियन) एक्स्टेन्डेड क्रेडिट फ्यासिलिटी प्राप्त भएको छ।

त्यस्तै पछिल्लो सात महिनामा शोधनान्तर स्थिति २ खर्ब ४७ अर्ब ३ करोडले घाटामा रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९७ अर्ब ३६ करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८१ करोड ७६ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ७ करोडले घाटामा रहेको छ ।