
पार्टीले सुरु गर्न लागेको ‘घरघर जाऔं, नेपाली कांग्रेसलाई जिताऔं’ अभियानपछि मात्रै चुनावी तालमेलका बारेमा निर्णय गरिनेसत्तारुढ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बताएका छन्।
नेता सिंहले एक महिने अभियानपछि मात्रै कांग्रेसले चुनावी गठबन्धनका विषयमा निर्णय गर्ने शुक्रबार बिहान काठमाडौंको आलोक नगरमा आयोजित बुथ समिति गठन कार्यक्रमलाई सम्बोधन गर्दै बताएका हुन्।
आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी कांग्रेसले यही फागुन २९ गते ‘घरघर जाऔं, नेपाली कांग्रेसलाई जिताऔं’ अभियान सुरु गर्दै छ।
स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलबीच तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा आफ्नो पार्टीभित्र तीनथरी धारणा रहेको नेता सिंहले बताए।
‘आउने चुनावमा के गर्ने भनेर अहिले पार्टीभित्र तीन धारको कुरा आइरहेको छ। एकथरी एक्लै जानुपर्छ, अर्कोथरी गठबन्धनलाई निरन्तरता दिनुपर्छ। एउटाले जिल्लालाई जिम्मा दिएर आवश्यकताअनुसार गर्नुपर्छ भन्छ’, कांग्रेस नेता सिंहले भने, ‘अभियानबाट फर्केर रिपोर्ट ल्याएपछि वर्किङ कमिटीमा के गर्दा राम्रो हुन्छ त्यो निर्णय गर्छौं।’
