आउँदो स्थानीय तहको चुनावमा नेपाली कांग्रेसबाहेकको गठबन्धन बन्नसक्ने नेकपा एस का नेता गंगालाल तुलाधरले बताए। नेता तुलाधरले आज केन्द्रीय कमिटीको तेस्रो बैठक यस्तो बताएका हुन्। उनले गठबन्धनमा नेपाली कांग्रेस सहभागी नबने उसैलाई घाटा हुन सक्ने समेत बताए ।
नेता तुलाधरले भने ‘कांग्रेसले चाहेन भने उबाहेकको गठबन्धन बन्न पनि सक्छ । यसले कांग्रेसलाई घाटा पनि हुन सक्छ । गठबन्धन पाँच दललाई नै आवश्यक छ, नेपाली कांग्रेसका लागि पनि त्यत्तिकै महत्त्वपूर्ण छ । स्थानीय चुनावमात्रै नभइ प्रदेश र सङ्घीय चुनावमा पनि गठबन्धनका लागि प्रयत्न गर्न आवश्यक छ ।’
नेता तुलाधरले स्थानीय तहको चुनावमा नेपाली कांग्रेस गठबन्धनबाट छुट्टिने दोस्रो तहका नेताहरूको भनाइ सस्तो लोकप्रियताका लागि मात्रै भएको बताए । उनले चर्को नारा र अर्काको आलोचना गर्दा भोट पाइन्छ भन्ने मनोविज्ञानबाट ग्रसित केही नेताहरूले आउँदो चुनावमा आफ्नो पल्लाभारी गर्नका लागि कांग्रेस गठबन्धनबाट नजाने भनिरहेको आरोप लगाए । नेता तुलाधरले नेपाली कांग्रेसका सभापति एवम् शीर्ष नेताहरू भने गठबन्धनसहित आउँदो चुनावमा जाने पक्षमा रहेको बताए ।
नेता तुलाधरले चुनाव प्रचारप्रसारका लागि पाँच हजार जनाको हाराहारीमा कमिटी बनिसकेको र अबको डेढ महिनाभित्र केन्द्रीय सदस्यलाई वडा तहसम्म परिचालित गर्ने कार्यक्रम लिएर जनतामा जाने बताए।
