
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अभिनेत्री करिश्मा मानन्धरले भेट गरेकी छन् । एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीसँग बिहीबार ओलीलाई भेट्न करिश्मा बालकोट पुगेकी हुन् ।
एमाले अध्यक्ष ओलीसँग करिश्माले एमाले पार्टी प्रवेशबारे छलफल भएको जानकारी दिइन् । छलफल अगाडि बढेको र चाँडै आफू एमाले प्रवेश गर्ने उनले बताइन् ।
करिश्माले भनिन्, ‘सहकार्य गरेर अघि बढ्ने भनेर छलफल भएको हो । एउटा विचार लिएर अघि बढ्नैपर्छ, यदि राजनीतिमा लाग्ने हो भने त ।’ उनले अगाडि भनिन्, ‘यसबारेमा मैले आफ्नो मनस्थिति धेरै पहिलेदेखि बनाएकी थिएँ । मेरा धेरै साथीभाइ एमाले निकट हुनुहुन्छ । आज चाहिं भेटेर छलफल गरें ।’
आफ्नो ‘पोजिसन’अनुसार पार्टीले भूमिका दिनुपर्ने पनि उनले बताइन् । यसअघि डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीमा आवद्ध भएकी करिश्मा केही वर्षयतादेखि भने राजनीतिबाट टाढा थिइन् ।
