कांग्रेसले चुनावी अभियानमा देउवासहित शीर्ष नेतालाई खटाएन

२६ फाल्गुन २०७८, बिहीबार ११:२८

सभापति शेरबहादुर देउवासहित पदाधिकारी र शीर्ष नेताहरूलाई नेपाली कांग्रेसले स्थानीय तह केन्द्रित एक महिने चुनावी अभियानमा खटाएको छैन।

केन्द्रीय प्रतिनिधिका रूपमा चुनावी अभियानमा केन्द्रीय सदस्यहरूलाई मात्रै जिल्ला तोकेर खटाइएको छ। सातै प्रदेशका सभापतिहरूलाई पनि कांग्रेसले चुनावी अभियानमा भूमिका दिएको छ तर जिम्मेवारी दिएर जिल्ला खटाएको छैन।

यसपालि भने केन्द्रीय सदस्यहरूलाई अघि सारिएको छ। कांग्रेसमा पहिलेभन्दा यसपालि केन्द्रीय सदस्य संख्या पनि धेरै छ। ८६ केन्द्रीय सदस्यबाट कांग्रेसले १६८ जना पुर्‍याएको छ।

मंसिरमा भएको महाधिवेशनबाट १३४ जना निर्वाचित भएका थिए। सभापतिमा शेरबहादुर देउवासँग पराजित शेखर कोइराला स्वतM केन्द्रीय सदस्य छन्।

सभापति देउवाले विधानअनुसार थप ३३ जना मनोनीत गर्न पाउनेमा १३ जना मनोनीत गर्दा केन्द्रीय सदस्य संख्या अहिले १४७ पुगेको छ भने अझै २० जना मनोनीत गर्न बाँकी छ।

०७९ वैशाख ३० मा स्थानीय तहको चुनाव हुँदैछ। त्यसअघि कांग्रेस दुईपटक घरदैलोमा जाने तयारीमा छ।
पहिलो चरणमा फागुन २९ देखि चैत २९ सम्म ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियान सञ्चालन गरिने कांग्रेसले जनाएको छ।