एमसीसीका विरोधमा लेखिएका स्टाटसहरू फिर्ता लिन अध्यक्ष नेपालको आग्रह

२५ फाल्गुन २०७८, बुधबार १३:०२

एमसीसीका विरोधमा पार्टीले निर्णय गरिसकेको भन्दै त्यसविरूद्ध लेखिएका स्टाटसहरू फिर्ता लिन सत्तारूढ दल नेकपा (एकीकृत समावजादी)का अध्यक्ष माधवकुमार नेपालले आग्रह गरेका छन्।

एमसीसीका विरुद्धमा आवाज नउठाउन केन्द्रीय सदस्यहरुलाई निर्देशन दिँदै त्यस विरूद्ध लेखेका स्टाटस फिर्ता लिन नेपालले आजदेखि बबरमहलस्थित कार्की ब्यांक्वेटमा सुरु भएको केन्द्रीय कमिटीको बैठकमा सम्बोधन गर्दै भनेका हुन्।

‘एमसीसीका विषयमा पार्टीले निर्णय गरिसकेको छ । पार्टीको निर्णय सबैले मान्नुपर्छ,’ उनले भने, ‘एमसीसीविरुद्धमा लेखिएका स्टाटसहरू फिर्ता लिनुहोला व्याख्यात्वमक घोषणासँगै एमसीसीका विषयमा रहेका अस्पष्टता हटेका छन्।’

उनले यस भित्र आफ्ना केही नेताहरूको फरक मत रहेको भन्दै फरक मतलाई पार्टीले अन्यथा रूपमा नलिएको स्पष्ट पारे।
यस भित्र हाम्रा कमरेडहरूको फरक मत छ। फरक मतलाई अन्यथा रूपमा हामी लिँदैनौ। पार्टीमा विचारको भिन्नता हुनसक्छ। कुनै पनि नेताको हुनसक्छ। कुनै पनि कमिटि भित्र हुन्छ। तर ती मत भिन्नताहरू पार्टी भित्र मात्र सिमित हुनुपर्छ। बाहिर पार्टीको धारणा ब्याख्या गर्नुपर्छ’, उनले भने।

‘कतिपय कमरेडहरूले एमसिसीविरूद्ध लेखेका स्टाटसहरू अत्यन्त आपत्तीजनक छन्। यस्ता स्टाटसहरू जसले लेख्नुभएको छ। त्यसलाई गल्ती स्वीकार गरेर फिर्ता गर्नुहोस्। अराजकतालाई यो पार्टीमा छुट छैन’, उनले भने।