अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय आगामी वर्षका लागि बजेट बनाउन छलफलमा व्यस्त हुन थालेका छन ।
उनले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका पदाधिकारीसँग अर्थ मन्त्रालयमा छलफल गरे । त्यसक्रममा मन्त्री शर्माले संघीयतालाई सुधार गरी मुलुकको विकास गर्न स्थानीय तहलाई प्रोत्साहन गर्नुपर्ने र साेही प्रकृतिका कार्यक्रम आगामी बजेटमा ल्याउने समेत संकेत गरे ।
‘स्थानीय तहलाई आत्मनिर्भर नबनाई सुखै छैन’ उनले भने, ‘उत्पादन, निजी क्षेत्र, रोजगारी, प्राकृतिक स्रोतलगायत सबै क्षेत्रमा स्थानीय तहलाई आत्मनिर्भर बनाइयो भने देश अघि बढ्छ।’
उनले स्थानीय तहमा विकृति भए सुधार गर्नुपर्ने तर सधैं गाली गरेर खराब मात्रै देखाउन नहुने सुझाव दिएका छन्।
‘स्थानीय तहमा केही नकारात्मक कुराहरु होलान्। तर, स्थानीय तहले धेरै सकारात्मक काम गरेका छन्’ उनले भने’, ‘कोभिडको यत्रो महामारी भएका संक्रमित जनतालाई कसले बचायो? थप जनसंख्यामा संक्रमण फैलन नदिनबाट कसले जोगायो? सहरका ठूला अस्पतालमा भर्ती हुने मात्रै कोभिडका बिरामी थिए र? ती बाहेकका पनि हजारौं बिरामी थिए। तीनलाई स्थानीय तहले आफ्नो स्रोत साधनको अधिकतम उपयोग गरेर उपचार गरेका हुन् भन्ने कुरा बिर्सनु हुँदैन।’
आयोग अध्यक्ष बालानन्द पौडेलसहितका सदस्यले आगामी आर्थिक वर्ष ०७९–८० को बजेट निर्माणमा सघाउ पुग्ने गरी ‘अन्तर–सरकारी वित्तिय सम्बन्ध’ का विषयमा प्रस्तुती दिएका थिए।
सो प्रस्तुती अपूर्ण भएको र थप सुक्ष्म ढङ्गले सुझाव पेश गर्न अर्थमन्त्री शर्माले निर्देशन दिएका छन्। उनले संघीय प्रणालीमा हाल कायम संरचनामा कुनै फेरबदल नगरी काम गर्ने र मुलुकको विकासमा ध्यान दिनुपर्ने बताएका थिए।
