सुनको कोटा घटाउँदा बजारमा अवैध सुन कारोबारलाई प्रसय !

२३ फाल्गुन २०७८, सोमबार ०६:२४

नेपाल राष्ट्र बैंकले वैधानिक रुपमा आयात हुने सुनको कोटा आधाले घटाएसँगै अवैध काराेबार फस्टाउने खतरा देखिएको छ । दैनिक २० किलो आयात हुँदै आएकोमा सुनको कोटा घटाउँदै केन्द्रीय बैंकले दैनिक १० किलोमा झारेसँगै यस्तो खतरा बढेको हो ।

सुनचाँदी व्यवसायीहरुका अनुसार विदेशी सञ्चिती घटेको भन्दै राष्ट्र बैंकले दैनिक आयात हुने सुनको कोटा घटाउँदा बजारमा अवैध सुन कारोबारलाई प्रसय मिल्ने बताएका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार महासचिव धर्म रत्न बज्राचार्य बजारमा माग भन्दा कम सुन आयात हुँदा अवैध सुनको कारोबार बढ्ने बताउँछन् । उनी भन्छन्, “सिजनमा सुन नपुग हुँदा व्यवसायीहरुलाई अवैध सुन खरीद गरेर भएपनि ग्राहकलाई गरगहना बनाइदिनुपर्ने बाध्यता हुन्छ ।”

उनका अनुसार व्यवसायीले ग्राहकको माग अनुसार आपूर्ति गर्नुपर्ने हुँदा आयात कोटा घटाउँदा बढ्दो मागको अवस्थाले अवैध कारोबारलाई मलजल नै दिए बराबर नै हुन्छ ।

सरकारको बाध्यता, डलर सञ्चिती धेरै कम भएको यो अवस्थामा बजारमा सुनको माग पनि खासै नभएका कारण हाललाई भने आयात कोटा घट्दा खासै ठूलो असर भने नपर्ने अर्का एक व्यवसायी बताउँछन । सुनको भाउ बढेर एक तोलाकै एक लाख रुपैयाँ माथि पुगेका अवस्थाले पनि माग घट्ने उनको अनुमान छ ।

हाल बजारमा दैनिक २० किलो सुनको माग हुने गरेको छ । उक्त सुन ग्राहकले भन्दा पनि व्यापारीले नै किनेर स्टक गर्ने गरेको बज्राचार्यले बताएका छन् । हाललाई आयात भैसकेको सुनले पनि भरथेग गर्ने तर विवाहको सिजन (बैशाख) मा फेरि सरकारले कोटा बढाउन आवश्यक हुने उनले बताए ।

उनले भने, “रसिया र युक्रेनको युद्ध रोकियो भने सुनको मूल्य पनि घट्छ । यस्तो अवस्थामा बजार चल्ने अवस्थामा सरकारले हामलिाई फेरी पनि कोटा यथास्थितिमा गरिदिने हो भने चाँही ठिकै हुन्छ । ”