नेपाल–भारत सीमा नदी महाकाली नदी आयोग बनाउनुपर्ने : डा.आरजु राणा देउवा

२२ फाल्गुन २०७८, आईतवार १७:२९

नेपाल–भारत सीमा नदी महाकाली नदी आयोग बनाउनुपर्ने नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले जोड दिएकी छन् । नेतृ देउवाले आइतबार धनगढीमा भएको कार्यक्रममा आयोग बनाउन सरकारलाई घच्चघच्चाइ रहेको दावी गरेकी छन् ।

अहिले आयोग बनाउने समय उपयुक्त रहेको जनाउँदै आयोग बनाइ काम गर्न सरकारसँग माग गरेको  ग्रामीण महिला विकास तथा एकता केन्द्र संस्थापक अध्यक्षसमेत रहेकी राणाले बताइन् ।

दक्षिण एसियाली सीमा नदीहरूको सामुदायिक सदुपयोग (ट्रोसा) परियोजनाको आइतबार धनगढीमा आयोजित धनगढी घोषणा पत्र र ट्रोसा परियोजनाका उपलब्धि समीक्षा तथा हस्तान्तरणसम्बन्धी कार्यशालामा नेतृ राणाले आयोगको परिकल्पना परियोजनाले गरेकाले आवाज उठाउने बेला आएको बताइन् ।

परियोजनाले पाँच वर्ष महाकाली नदी किनारमा बसोवास गर्ने समुदायमा काम गर्दा उपलब्धि हाँसिल गरेकाले आयोग बनाई सरकारले काम गर्नुपर्ने उनले बताइन् । नदी किनारमा बसोवास गर्ने समुदायका स्थानीयले नेपाल–भारत तर्फ सुमधुर सम्बन्ध स्थापना हुनुका साथै बाढीका बेला हुने जोखिमलाई पूर्वसूचना प्रणालीका माध्यम बाट कम गर्न मद्दत पुगेको उनले बताइन् ।

सचेतना लगायत क्षमता विकासका लागी सञ्चालन गरिएका बैठकहरूका कारण आफ्ना समस्याको पहिचान गरी स्थानिय, प्रदेश र संघ सरकारसंग माग गर्न महिलाहरु जागरुक भएको परियोजनाले जनाएको छ । नदीमा पाइने स–साना ढुङ्गाबाट आकर्षक टेबुल पेन्टिङ, तस्बिर बनाई आयआर्जन गर्न समेत महिला सक्षम भएकाले अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाउन महिला सफल भएको उनले बताइन् ।

स्थानीय सरकारले परियोजना सञ्चालनमा निकै साथ सहयोग गरेकाले दीर्घकालीन योजना बनाइ काम गर्न उनले स्थानीय सरकार प्रमुखलाई परियोजना हस्तान्तरणसमेत गरेकी छन् ।

गैरसरकारी संघ, संस्था परियोजनाले सरकारले नै गर्ने, गरिरहेका काममा सहयोग पुगाउन भएकाले सर्व प्रथम सरकारहरु नै योजना बनाई सम्पन्न गर्न तर्फ अग्रसर हुनु पर्ने उनको भनाई थियो । परियोजना महाकाली नदीले क्षेत्रमा रहेका चारवटा जिल्ला कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलाका स्थानिय तहमा सञ्चालन गरिएको थियो ।