नेपाल धिताेपत्र बाेर्डले ब्राेकर कमिसन परिमार्जन गर्ने तयारी स्वरूप तयारीलाई तीब्र पारेको छ ।
लगानीकर्ता आफैले अनलाइनबाट कारोबार गरिरहँदा पनि ब्रोकर कमिसन पुरानै, महँगो भएको भन्दै लगानीकर्ताले कमिसन घटाउन दवाव दिँदै आएका छन ।
हाल कायम रहेको ब्रोकर कमिसनलाई परिमार्जन गर्न आवश्यक तयारी स्वरूप अध्ययनकाे काम तीब्र पारिएको सेबाेनका अध्यक्ष रमेश कुमार हमालले बताएका छन ।
उनका अनुसार अहिले अन्तर्राष्ट्रिय बजारहरूमा कति ब्राेकर कमिसन लागू भएकाे छ भन्ने विषयमा बाेर्डले अध्ययन अघि बढाएको हो ।
साे अध्ययन कार्य सम्पन्न भएपछि आवश्यक प्रकृया पुरा गरी आवश्यकताका आधारमा हाल कायम ब्रोकर कमिसनलाई परिमार्जन हुने उनको भनाइ छ ।
गत वर्षको पुषमा सेयर कारोबार गर्दा लाग्ने ब्रोकर कमिसन घटेको थियोे । पछिल्लो समय ८५ प्रतिशत बढी सेयर कारोबार अनलाइनबाट हुँदै आएको छ।
घटाउनु अघिसम्म ब्रोकर कमिसन ०.४ देखि ०.६ प्रतिशतसम्म लाग्दै आएको थियो । पुषमा घटेपछि भने ०. २७ देखि ०.४ प्रतिशतसम्म शुल्क लाग्दै आएकाे छ।
नयाँ व्यवस्थाअनुसार ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४ प्रतिशत ब्रोकर कमिसन लाग्छ । त्यस्तै ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत शुल्क लाग्छ ।
५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाखदेखि १ करोड रुपैयाँसम्मको कारोबारमा ०. ३० प्रतिशत र १ करोडभन्दा बढी रकमको कारोबार गर्दा ०.२७ प्रतिशत ब्रोकर कमिसन लाग्छ ।
बोर्डले ३३ प्रतिशत कमिसन घटाएको थियोे त्यतिबेला ।
हाल कमिसन परिमार्जनका लागि अध्ययनकाे काम चलिरहेको र परिमार्जन पछि पुँजी बजारको विकास र विस्तारमा थप टेवा पुग्ने बोर्डले जनाएको थियो ।
