पुँजीबजार सुधारका लागि धितोपत्र बोर्ड र नेप्सेका प्रमुखलाई अर्थमन्त्री शर्माको ११ बुँदे निर्देशन (सूची)

१८ फाल्गुन २०७८, बुधबार १८:२०

अर्थ मन्त्रालयले धितो बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को नवनियुक्त प्रमुखहरूलाई स्वागत कार्यक्रम गरी बधाई दिदै पुँजीबजार सुधारका लागि विभिन्न निर्देशन समेत दिएको छ।

अर्थ मन्त्रालयले खुल्ला प्रतिस्पर्धाका माध्यमबाट बोर्ड अध्यक्षमा रमेश हमाल र नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको थियो।

बिहीबार अध्यक्ष हमाल र सीईओ कार्कीको स्वागतमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारका सुधार लागि दुवै निकायलाई विभिन्न ११ बुँदे निर्देशन दिएका हुन्। खुल्ला प्रतिस्पर्धाबाट छनौट भएर आएका नयाँ नेतृत्वले कसैको दबाब र प्रभावमा परेर काम नगर्न निर्देशन दिए।

उनले उत्पादन र पूर्वाधारका क्षेत्रमा लगानी गर्न चाहिने रकम पँुजीबजारबाट आउने वातावरण सृजना गर्न पनि निर्देशन दिए। पुँजीबजारको समस्या समाधान गर्ने र सर्वसाधारणको लगानीको सुरक्षा गर्ने मुख्य उदेश्यले दुवै निकायमा नयाँ नेतृत्व छनौट गरेको उनले प्रष्ट पारे।

सो अवसरमा अर्थमन्त्री शर्माले पूँजीबजारमा लगानी भएको पैसा ठूला परियोजनामा आउने बातावरण सृजना गर्नुपर्नेसमेत बताए।

‘जनतामा भएको पैसा पुँजीबजारमा त आयो। अब यो पैसालाई पुँजीनिर्माणमा लगाउन सक्नुप¥यो। ठूला परियोजनामा पुँजी लगानी गर्ने विषयमा तपाईंहरू (धितोबोर्ड र नेप्सेका अधिकारी) ले ध्यान दिनुपर्छ’, उनले भने, ‘राष्ट्रिय महत्वका आयोजनामा कसरी लगानी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिनु अहिलेको पुँजी बजारको आवश्यकता हो।’

साथै उनले पुँजीबजारमा राजनीति नगर्न पनि आग्रह गरेका छन्।

‘पुँजीबजारमा राजनीति गर्नु हुँदैन। यसलाई स्वचालित ढङ्गले चल्न दिनुपर्छ’, उनले भने, ‘फलानो मन्त्री यस्तो भयो भन्दै चलखेल गर्नुहुँदैन।’

मन्त्री शर्माले कार्यभार सम्हाल्नेबित्तिकै पुँजीबजारका समस्या हल गर्न प्राथमिकता दिएर काम गरेको स्मरण गराउँदै सुधारको कार्य थालनी गर्ने क्रममा धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जमा नयाँ नेतृत्व चयन गरेको बताए।

नयाँ नेतृत्वले मुलुकको पुँजी बजारलाई सुधार गरी नयाँ ठाउँमा पु¥याउने विश्वास व्यक्त गरे।

उनले इन्साइडर टे«डिङ, पम्प एड डम्प र सर्कुलर कारोबार जस्ता विकृत क्रियाकलाप आउँदो दिनमा पुँजी बजारमा नदेखिन गरी काम गर्न निर्देशन दिए।

‘म मन्त्रालयमा आउनासाथ सर्कुलर कारोबार, पम्प एड डम्प र इन्साइडर टे«डिङ जस्ता विकृत कारोबारका विषयमा कसैले आधिकारिक रूपमा केही भनेको थिएन। म आएपछि यो विकृतिबारे बोलिएको र छानबिन गरी कारबाहीको दायरामा ल्याइएको छ’, उनले भने, ‘त्यसैले आउँदा दिनमा पनि यस्ता विकृत कारोबार मान्य हुँदैन।’

उनले साना लगानीकर्ताको पुँजीबजारमा प्रवेश गराउने, अहिले कारोबार गरिरहेका साना लगानीकर्तालाई सुरक्षित गर्ने, ओटिसी बजारलाई प्राथमिकता दिने, नेप्से र धितोपत्र बोर्डबीच आसपसी तालमेल गर्ने, सेयर सूचीकरणमा आउन नसकेका कम्पनीलाई सहजीकरण गर्ने, ब्रोकरको क्षमता बढाउने, सफ्टवेयरको क्षमता विकास गर्ने, ‘टिएमएस’ बाट थप सेवा सुचारु गर्नेलगायतका निर्देशन दिएका छन्।

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले नयाँ नेतृत्वले पुँजी बजारलाई सकारात्मक बाटोमा डो¥याउने विश्वास लिएको बताए। त्यस्तै राजस्व सचिव कृष्णहरी पुस्करले सेयर बजार धेरै सुधार हुँदै गएको र भएका कमीकमजोरीलाई अर्थ मन्त्रालयको निर्देशनमा पारदर्शी रूपमा सुधार्ने काम जारी रहेको बताए। उनले अन्तर्राष्ट्रिय बजारसँग पनि प्रतिस्पर्धी हुने गरी नेपालको सेयर बजारलाई अगाडी बढाउन निर्देशन दिए।

धितोपत्र बोर्डको नवनियुक्त अध्यक्ष रमेश हमालले वित्तीय साक्षरताका क्षेत्रमा धेरै काम गरेर सेयर लगानीकर्ताहरूलाई सुसूचित गर्ने बताए। उनले साक्षरताकै अभावमा लगानीकर्ताहरू हल्ला गर्ने वा हल्लाको पछी लाग्ने देखिएको बताए। त्यस्तै ठूलो ‘मार्केट मेकर’को अभाव देखिएको उनको भनाइ थियो। नेप्सको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले लगानीकर्ताको गुनासो नआउने गरी काम अगाडि बढाउने प्रतिबद्धता जनाए।

यस्ता छन् ११ बुँदे निर्देशन

१) कोभिड १९ को महामारीबीच पुँजीबजारलाई लगानीकर्तामैत्री बनाउने गरी नेपालको पुँजीबजारलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छिमेकी मुलुकहरू भारत, चीन, पाकिस्तान, बंगलादेश, अमेरिका, बेलायतमा कसरी पुँजीबजार संचालन भएको छ भन्ने अध्ययन गर्ने।
२) पुँजीबजारबाट कसरी पुँजी निर्माण गर्न सक्छौं ? कसरी लगानीकर्तालाई उच्चतम प्रतिफल प्रदान गर्न सक्छौं र राष्ट्रिय महत्वका आयोजनाहरूमा आवश्यक लगानी कसरी व्यवस्था गर्न सक्छौं भनेर अध्ययन गर्नुपर्नेछ। ठूला पुर्वाधार, उत्पादन, पुँजी निर्माणका लागि पुँजी संकलन गर्ने व्यवस्था मिलाउने।
३) २० कात्तिक ०७५ देखि नयाँ टीएमएस भित्रिएको छ। यसले केही सहजता ल्याएपनि अझै प्रयोगकर्तामैत्री छैन भन्ने गुनासो छ। यस्ता गुनासो समाधान गर्नुपर्नेछ।
४) लगानीकर्ता समान स्तरका नहुने हुँदा साना कम्पनी, स्टार्टअप कम्पनीहरूलाई पनि पुँजीबजारमा प्रवेश गर्ने बाटो खुल्ला हुनुपर्छ। विशेषगरी एसएमई तथा ओटिसी बजारको विकास गरी भेन्चर क्यापिटलसमेतको आधारमा साना कम्पनीहरूको लागी आवश्यक बजारको विकास गर्नुपर्छ।
५) सुचीकरणमा आउन नसकेका तथा आइपिओको लागि योग्य भइ नसकेको विभिन्न पब्लिक लिमिटेड कम्पनीहरूको सेयरलाई ओटिसी बजार विकास गरी कारोबार गर्ने व्यवस्था मिलाउने। आउँदा दिनमा इन्ट्रा डे कारोबार र सर्ट सेलिङ गर्न मिल्ने गरी प्रणालीको सुधार गर्ने।
६) अटोमेसन अक्सन सुरु गर्ने। अक्सन बजार लिलामीबाट शुरुमा बिक्री हुन नसकेका सेयर र खरिद बिक्री हुन नसकेका कारोबारको देशभर सबै लगानीकर्ताले खरिद गर्न पाउने व्यवस्था मिलाउने।
७) ब्रोकरलाई सक्षम बनाउन ‘सब–ब्रोकर’ मोडल तयार गर्ने। डेरिभेटिभ्स औजार बनाई कारोबार गर्ने। कमोटिभी एक्सचेन्ज सम्बन्धी ऐनलाई अगाडी बढाउने। यो ऐन बनेको ४ बर्ष भयो।
८) अर्थतन्त्रको प्रतिनिधित्व गर्ने बैज्ञानिक तवरले निर्माण गरिएको नयाँ परिसूचक तयार गर्ने। भारतमा बम्बई स्टक एक्सचेन्ज, अमारिकाको डाउजोनस तथा नासडाक जस्ता परिसूचक निर्माण भएका छन्। त्यसबाट शिक्षा लिने। मार्केट क्यापका आधारमा लार्ज क्याप इण्डेक्स, मिड क्याप इण्डेक्स र स्मल क्याप इण्डेक्स बनाई बजार परिसूचकलाई थप व्यवस्थित गर्ने।
९) उत्पादनमूलक धेरै कम्पनीहरू सेयर मार्केट भन्दा बाहिर रहेकाले सेयर बजारमा ल्याउन बुक बिल्डिङ प्रणाली लागू गर्ने। इण्डेक्स फण्ड तथा टे«डेट फाण्डको शुरुवात गर्ने।
१०) ब्रोकरलाई मार्जिन ल्याण्डिङ दिने कुरा लागू गर्ने। ब्रोकर कम्पनी तथा मर्चेन्ट बैंकिङ संस्थाहरू मार्फत मार्जिन ल्याण्डिङ प्रक्रिया अगाडि बढाउने।
११) सर्कुलर कारोबार, पम्प एड डम्प र इनसाइडर टे«डिङ रोक्ने। पुँजी बजारसम्बन्धी जनचेतना, पुँजी बजार साक्षरताको संचालन, तालिम केन्द्रको स्थापना गर्ने।