
नेपाली चलचित्रका नायक पल शाहमाथि एक नाबालिग गायिका बलात्कारको आरोप लागेपछि प्रहरी अनुसन्धान जारी छ । पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा गायिकाका बुवाले जबर्जस्ती करणी गरेको भन्दै जाहेरी दिएका थिए ।
पलविरुद्ध पक्राउ पुर्जी जाहेरीका आधारमा जारी भएको थियो । आइतबार तनहुँ प्रहरी कार्यालयमा पल शाह आफैँ उपस्थित भएका थिए । उनीविरुद्ध जिल्ला अदालतले सात दिनको न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
प्रहरीले पलविरुद्ध प्रमाण संकलनलगायत काम अगाडि बढाएको एक प्रहरी अधिकारीले जानकारी दिए । ती प्रहरी अधिकारीका अनुसार तनहुँबाट पललाई केही दिनपछि गैँडाकोट समेत लगिनेछ ।
पलविरुद्ध आफूलाई मादकपदार्थ सेवन गराई गत वर्ष चैत ७ गते गैँडाकोटको एक होटेलमा बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैँडाकोटमा अर्को जाहेरी दर्ता भएको छ । पललाई गैँडाकोट लगिए पनि मुद्दा प्रक्रिया भने तनहुँबाटै अगाडि बढ्नेछ । गैँडाकोटमा पलको अनुसन्धान सकिएपछि मिसिलसहित उनलाई तनहुँ पठाइनेछ ।
प्रहरीले पल गैँडाकोटमा बसे र नबसेको रेकर्ड समेत हेर्नेछ । त्यसबाहेक त्यसलाई पुष्टि गर्ने प्राविधिक अनुसन्धान पनि प्रहरीले गर्नेछ ।
उनको बयान भने गैँडाकोटमा समेत हुनेछ । बयान, प्रमाणलगायत सबै कागजातहरू अनुसन्धानपछि तनहुँ जिल्ला प्रहरी कार्यालयलाई नै सुम्पिने तयारी छ ।
पललाई भेट्नका लागि पछिल्लो समय तनहुँमा समर्थकलगायत व्यक्तिको भिड लाग्न थालेको छ । प्रहरीले नजिकका आफन्त र कानुन व्यवसायीबाहेक अरूलाई भेट्न रोक लगाएको छ ।
