किन बढिरहेको छ सुन आयात ?

१७ फाल्गुन २०७८, मंगलवार ०७:२८

चालु आर्थिक वर्ष २०७८/७९ माघ मसान्तसम्म नेपालमा २५ अर्ब २१ करोड बढीको सुन आयात भएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको ७ महिनामा २५ अर्ब २१ करोड ६८ लाख ३१ हजार रुपैयाँ बराबरको सुन नेपाल भित्रिएको हो ।

नेपालमा टर्की र युनाईट अरब इमिरेट्स (यूएई)बाट सुन आयात हुने गरेको छ । चालु आवको माघ मसान्तसम्ममा यी दुई देशबाट ३ हजार ६४३ केजी सुन आयात भएको हो । सुन आयातबाट सरकारले ३ अर्ब ९ करोड ६५ लाख ५५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

एक महिनाको अवधिमा अर्थात गत पुस मसान्तसम्मको तुलनामा भने सुन आयात १४.४१ प्रतिशतले वृद्धि भएको हो । यो रकममा भने ३ अर्ब १७ करोड ७६ लाख २२ हजार रुपैयाँले बढी हो । चालु आवको पुस मसान्तसम्म नेपालमा २२ अर्ब ३ करोड ०२ लाख ९ हजार रुपैयाँ बराबरको सुन आयात भएको थियो ।

चालु आवको ७ महिनामा सबैभन्दा बढी यूएईबाट सुन आयात भएको छ । उक्त देशबाट माघ मसान्तसम्ममा १९ अर्ब ६४ करोड ७७ लाख २१ हजार रुपैयाँ बराबरको सुन आयात भएको हो । उक्त देशबाट २ हजार ८३१ केजी भन्दा बढी सुन आयात भएको विभागले जनाएको छ ।

उक्त अवधिमा टर्कीबाट भने ५ अर्ब ५६ करोड ९१ लाख ९ हजार रुपैयाँ बराबरको सुन नेपाल भित्रिएको छ । टर्कीबाट माघ मसान्तसम्ममा ८११ केजी सुन आयात भएको हो । विमानस्थलमा काँचो सुन भित्र्याउन कडाइ गरेसँगै वैधानिक तवरले ल्याउने क्रम बढेको सरकारी अधिकारी बताउँछन् ।