अमेरिकी सहायता परियोजना एमसीसीविरुद्ध आज पनि बानेश्वर वरपर क्षेत्रमा प्रदर्शन जारी छ। कुनै पनि हिसाबले एमसीसी अनुमोदन गर्न नहुने भन्दै चर्को नाराबाजी गरिरहेका छन्।
प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारीहरुमाथि प्रहरीले लाठी चार्ज गरको छ । प्रहरीले लाठी चार्ज गरेपछि प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भइरहेको छ। प्रदर्शनमा सत्तारुढ दलकै कार्यकर्ताहरु परिचालन भएका छन्।
आक्रोशमा आएर उनीहरुले प्रहरीमाथि पानीका बोतल तथा ढुंगामुढा प्रहार गरिरहेका छन्। प्रदर्शनकारीलाई तितरवितर गर्न प्रहरीले पानीको फोहरासमेत हानेको छ। प्रदर्शनमा स्कुले बालबालिकाहरु पनि सहभागी छन्। बानेश्वर क्षेत्रमा सुरक्षाकर्मी हाइअलर्टमा छन्।
प्रदर्शनकारीलाई तितरवितर पार्न विभिन्न स्थानमा पानीका ट्यांकर राखिएका छन् भने प्रहरीको बाक्लो उपस्थित रहेको छ। यसअघि पनि एमसीसीको विरोधमा बानेश्वर क्षेत्रमा प्रदर्शन हुँदै आएका छन्। यता सत्तगठबन्धन दलले आजको संसद बैठकमा एमसीसी अनुमोदन गर्ने निर्णय गरिसकेको छ।
